— हिमाली जिल्ला डोल्पामा तीन सय २८ मेगावाट क्षमताको अर्ध जलाशययुक्त जल विद्युत आयाेजना निर्माण हुने भएको छ ।
जिल्लाकाे उत्तरी क्षेत्रमा पर्ने छार्काताङ्साेङ् गाउँपालिकामा भारबुङ तातु खाेला जलविद्युत् आयोजना निर्माण हुने भएको हाे। आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्यांकन स्विकृतीको प्रक्रिया अगाडि बढाएको छ ।
विभागका उप-महानिर्देशक गाेकर्णराज पन्थले आयाेजना निर्माणकालागि फिजिबिलिटी अध्ययन तथा वातावरणीय प्रभाव मूल्यांकनकाे काम सकिएर पनि स्विकृतीकाे चरणमा रहेकाे बताए । अर्ध जलाशययुक्त प्रकृतिको सो आयोजानाको दुबै प्रतिवेदन स्वीकृतिका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिससहित वन तथा वातावरण मन्त्रालयमा पेस भएको पन्थले जानकारी दिए ।
उनका अनुसार उक्त आयाेजना निर्माणकालागि नेपाल सरकारकै लगानीमा चार/पाँच वर्ष लगाएर अध्ययन गरिएको हाे। जर्मनीकाे फिसमार कम्पनी र नेपालकाे हाइड्रो कम्पनीले संयुक्त रुपमा अध्ययन गरेका हुन् ।
वन मन्त्रालयबनट स्विकृती आइसकेपछि नेपाल सरकारले लगानी गर्ने वा नेपालका अन्य हाइड्रोपावर जस्तै निजि क्षेत्रकाे सहयोग लिने भनेर स्वामित्व ग्यारेन्टी गरी स्राेत सुनिश्चिताकाे प्रक्रिया अघि बडाउने उप-महानिर्देशक पन्थले जानकारी दिए ।
उक्त आयाेजनामा भारबुङ र तातु खाेलाकाे पानी प्रयाेग गर्नुका साथै छार्काताङ्साेङ् र काईके गाउँपालिकामा भाैतिक संरचना निर्माण गरिने छ । विभागका अनुसार भारबुङ् नदीबाट ३ सय २५ मेगावाट क्षमता विद्युत उत्पादन हुनेछ ।
यससँगै तातु खोलाको १.१२ क्युसेक पानीलाई नदी प्रवाहमा आधारित प्रणालीबाट उपयोग गरी थप तीन दशमलव १० मेगावाट जलविद्युत उत्पादन गरिने छ । आयाेजना निर्माणकाे क्रममा दुई पालिकाका तीन वटा वडा प्रभावित हुनेछन् ।
छार्काताङ्सोङ् गाउँपालिकाकाे ४ र ५ तथा काईके गाउँपालिका–१ का भूभाग प्रभावित हुनेछन् भने छार्का ताङसोङ गाउँपालिका–४ मा एक सय ६९ मिटर अग्लो बाँध, ७ सय ६६ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक र १६ किलोमिटर लामो हेडरेस सुरुङ निर्माण गरिने विभागले जनाएको छ ।
सोही गाउँपालिकाको ४ र काईके गाउँपालिका–१ मा भूमिगत विद्युत् गृह र पानी निकास नहर निर्माण गर्नुका साथै आयोजनाको जलाशयले छार्का ताङसोङ गाउँपालिका–५ का केही भू-भाग डुबानमा पर्ने बताइएको छ।
आयाेजनाकाे कुल लागत ४ अर्ब ३९ कराेड ३० लाख अनुमान गरिएको छ। यसअघि डाेल्पामै १ सय ६ मेगावाट क्षमताको जगदुल्ला हाइड्रोपावर निर्माणकै चरणमा छ । उक्त आयाेजना डाेल्पाकाे जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा बन्दैछ ।