मुख्य समाचार
नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न
नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न

— सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् ।

निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ ।

योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा अरुण खोला पुलको आठौँ स्पानको ढलान सम्पन्न भएसँगै नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न भएका हुन् । यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ पुल र २५ मिटरभन्दा लामा १२ पुल निर्माण गर्नुपर्ने गरी निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले ठेक्का पाएको थियो । खनालले २२ वटा साना तथा १२ वटा ठूला गरी ३४ वटै पुलको निर्माण सम्पन्न भएको जानकारी दिए ।

साना पुल निर्माण सकिएर सञ्चालनमा आइसकेका भए पनि ठूला पुल निर्माणका क्रममा हुँदा सबै पुल सञ्चालनमा आइसकेका छैनन् । 'गत साता चोरमारा बजारको गिरुबारी खोला पुल सञ्चालनमा आएसँगै यतिबेला ३३ वटा पुलबाट यातायात सञ्चालन भएका छन्,' इन्जिनियर खनालले भने, 'यातायात सञ्चालन हुन बाँकी रहेको अरुण खोला पुलबाट पनि फागुन २१ गतेको निर्वाचनअगावै यातायात सञ्चालनमा ल्याउनेगरी पुलको फिनिसिङ तथा एप्रोच रोड (पहुँच मार्ग) निर्माणको कामलाई तीव्रता दिएका छौँ ।' पूर्वी खण्डमा सडक विस्तारको काम तीव्रगतिमा अगाडि बढेको खनालले जानकारी दिए ।

यस खण्डको दाउन्नेमा कठिन भौगोलिक वनावट भएका कारण दाउन्ने खण्डमा केही कल्भर्ट निर्माणको काम बाँकी रहेकाले ती कल्भर्ट निर्माण पनि अन्तिम चरणमा चलिरहेको खनालले बताए । नारायणघाटदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकमध्ये दाउन्नेबाहेकका प्रायः सबै ठाउँमा कालोपत्र सडकबाट यात्रा गर्न सकिने खनालको भनाइ छ । 'दाउन्नेमा पनि सडक विस्तारको काम तीव्रगतिमा बढेको छ,' उनले भने, ' दाउन्नेमा कठिन भूनावट भएका कारण त्यहाँ सडकमा कालोपत्र नगरी ढलान गरेर सडक विस्तारको काम गरिँदैछ, यसैले यो क्षेत्रमा विस्तारको काम ढिलाइ भइरहेको हो ।'

सूचना अधिकारी इन्जिनियर खनालले नारायणघाट–बुटवल सडक विस्तार योजनाको पूर्वी खण्डको हालसम्म भौतिक प्रगति ७६ प्रतिशत पुगेको जानकारी दिए । पूर्वी खण्डमा दाउन्ने सडकखण्ड, अरुणखोलाको केही भाग र दुम्कीबासको केही भागबाहेक सबै ठाउँमा दुईतर्फी नै कालोपत्रको काम सकिएकाले यात्रा सहज बनेको खनालको भनाइ छ । दाउन्ने क्षेत्रमा भने अझै सडक ढलानको काम बाँकी रहेकाले यात्रा सहज हुन नसकेको उनले बताए ।

दुईतर्फी नै सडक कालोपत्र सकिएको ठाउँमा सडक लेन छुट्याउन लेन मार्किङको काम तथा सर्भिस लेन हुने ठाउँमा अतिरिक्त सर्भिस लेन निर्माणको काम भइरहेको उनले बताए । दाउन्नेको १४ किमि सडकमध्ये पूर्वी खण्डमा चार किलोमिटर सडक पर्छ ।



दाउन्नेमा अहिले बाँकी रहेको डाँडा काट्ने, बाँकी रहेका कल्भर्ट निर्माण गर्ने, बाटोको चौडाइ बढाउने, पहिरो जान सक्ने ठाउँमा तलैबाट जालीमा ढुङ्गा भर्नेलगायत काम भइरहेको छ । यस खण्डमा २१५ वटा कल्भर्ट निर्माण हुनेछन् ।

नारायणघाट–बुटवल सडक विस्तारका लागि नेपाल सरकारले चिनियाँ निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडसँग २०७९ माघ २४ मा सम्झौता गरेको थियो । निर्माण सुरु भएको ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको सडक विस्तारको काम निकै सुस्त गतिमा अगाडि बढेको छ । निर्धारित समयमा काम पूरा नभएपछि सरकारले निर्माणको कम्पनीको म्याद चारपटक थप गरी आगामी साउन ८ गतेभित्र सक्नेगरी अन्तिमपटक म्याद थप गरेको छ ।

११४ किलोमिटर लामो नारायणघाट–बुटवल सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ । दुवै खण्डको जिम्मा चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले पाएको छ । दुवै खण्डको लागत करिब रु १७ अर्ब रहेकामा एसियाली विकास बैंक (एडीबी)को ८५ प्रतिशत ऋण सहयोगमा सडक विस्तारको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रम सोसाइटीले राजनीतिबाट टाढा रहेर कार्यसम्पादन गर्नुपर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटीका विषयमा शनिबार मन्त्रालयमा भएको छलफलमा उनले रेडक्रसको केन्द्रीय तहमा वर्षौंदेखि रहेका संस्थागत समस्यालाई कानुनबमोजिम विधि र प्रक्रियाबमोजिम हल गर्नेगरी काम गर्न निर्देशन दिए । गृहमन्त्री अर्यालले तदर्थ समितिलाई प्राप्त जिम्मेवारी पूरा गर्न समयमा नै निर्वाचन गर्न, संस्थाको विधानलाई सङ्घीयताअनुसार ...
— एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरकारसँग उचित सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न माग गरेका छन् । एमालेको ओखलढुंगा काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले चुनावमा धाँधली वा अवाञ्छित क्रियाकलाप हुन नदिन शान्ति, सुरक्षाको प्रभावकारी व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले जिल्लाको विकास गर्ने ...
— जेन-जी प्रदर्शनमा काठमाडौंबाट फरार एक कैदी गुल्मीमा पक्राउ परेका छन् । छत्रकाेट गाउँपालिका- ५ का ६५ वर्षीय मानबहादुर सर्तुङ्गेलाई तम्घासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए । प्रहरी अनुसार नियन्त्रणमा लिइएका कैदी कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट फरार रहेका थिए । उनी जबर्जस्ती करणी मुद्दाका फरार कैदी हुन् । आइतबार ...
— रसुवाको पर्यटकीयस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण तालको सतहमा पानी बरफ बनेको छ । पानी जमेको अवस्थामा तालमाथि हिँड्डुल गर्दा बरफ फुटेर दुर्घटना हुन सक्ने जोखिम बढेकाले यात्रु तथा तीर्थयात्रीलाई विशेष सावधानी अपनाउन गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको छ । पानी जमेकोजस्तो देखिए पनि तलभित्र गहिरो दह रहेकाले बरफमाथि हिँड्दा एक्कासि फुट्न सक्ने सम्भावना उच्च हुने भएकाले ...
— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यसपटक आफ्नो पार्टीले कुनै पनि पार्टीसँग तालमेल नगरेको र अन्य कुनै पनि पार्टीका उम्मेदवारलाई नसघाउने बताएका छन्। विशेषगरि झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग हुन्छ कि हुँदैन भन्ने कान्तिपुरको जिज्ञासामा उनले यसपाली कसैलाई पनि यो क्षेत्रमा राप्रपाले नसघाउने प्रष्ट पारेका हुन्। ‘सघाउने नै हो भने ...