: पछिल्ला केही महिनादेखि नै काठमाडौंमा चोरीका घटना अत्यधिक बढिरहेका थिए। अन्य समयभन्दा जेन–जी आन्दोलनपछि काठमाडौंमा लुटपाट र चोरी बढ्यो। त्यसमा थपिएको एउटा कारण हो, सुन चाँदीको अचाक्ली मूल्यवृद्धि।
जेन–जी आन्दोलनताका कारागारबाट निस्केका कैदीले काठमाडौं पेप्सीकोला, गोठाटार क्षेत्रलाई केन्द्रविन्दु बनाई कहिले ललितपुर कहिले भक्तपुर पुगी लुटपाट गरेका हुन्।
राति ९ बजेपछि सक्रिय हुने लुटेराको एक समूहलाई प्रहरीले पक्राउ गरेपछि उपत्यकाभित्रको नयाँ खालको अपराध शृंखला बाहिर आएको हो। ती लुटेराले खासगरी सडक, चोकमा एकान्तमा हिँड्ने महिलाले लगाएका सुनचाँदीसहितका गहनालाई निसाना बनाई लुटेको पाइएको छ।
चोरीका तरिका उस्तै देखिन्थे। ठेलामा तरकारी बेच्ने पनि लुटिएका छन्, कलेज पढ्ने विद्यार्थीको पनि मोबाइल खोसिएको छ। मर्निङवाममा हिँड्ने दिदीबहिनीसमेत लुटिएका छन्। उही प्रकारको चोरी कहिले स्वयम्भू एरियामा हुन्थ्यो त कहिले ललितपुरमा वा कहिले बौद्ध, मूलपानीतिर। कहिले भक्तपुरको ठिमी क्षेत्रमा आतंक मच्चाउँथे। मुख्य सडकभन्दा साइडका सडकहरूमा रातको समयमा मानिसहरू लुटिने समस्या बढिरहेको थियो।
तिनवटा मोटरसाइकलमा ३–३जना बसेर आउने युवाहरूले हिट एन्ड रनको तरिकाले केही मिनेटमै बाटो हिँड्ने व्यक्तिको सिक्री, मोबाइल तथा पैसा चोरेर भाग्थे। एकवटा मोटरसाइकलमा ३ जना बसेर उनीहरू चोरी गर्न हिँड्थे। उनीहरू चढेको मोटरसाइकलको नम्बरमा हिलो छ्यापेका हुन्थे। ताकि, सीसीटीभी फुटेजमा मोटरसाइकल नम्बर नभेटियोस्। प्रहरीले फेला पारेका सीसीटीभी फुटेजमा कहीँ कतै पनि मोटरसाइकल नम्बर नै बुझिँदैनथ्यो।
पैसा वा केही गरगहना नभेटाउँदा व्यक्तिलाई मरणासन्न तरिकाले पिट्ने गरेका थिए। लुट्दा कतिपयको कानको लोती नै चुँडाइदिने गर्थे। चोरी गर्न प्रयोग भएको मोटरसाइकल उनीहरूले अक्सर लुकाएर राख्थे। दिउँसो घरबाहिर निकाल्दैनथे। प्रहरीले अनेक प्रयास गरिरहेको थियो। तर, उनीहरू फेला पर्न सकेनन्।
यसरी उपत्यकामा लुटपाट मच्चाउने गिरोह अन्ततः पक्राउ परेको छ। मध्यरातमा लुटपाट गरिरहेको अवस्थामा प्रहरीले गोली नै चलाएर उनीहरूलाई पक्राउ गरेको हो। मंगलबार स्वयम्भू क्षेत्रमा सुनको सिक्री लुट्ने राजीव भण्डारीलाई पक्राउ गरेपछि उसकै सुराकीका आधारमा अन्य लुटेरा पक्राउ परे। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विशेष प्रहरी टोली परिचालन गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूमध्ये धेरैजसो पटके चोर हुन्। भदौ २३ र २४ मा जेन–जी आन्दोलनका क्रममा प्रहरी हिरासत र कारागारबाट भागेका व्यक्ति हुन्।
काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६, मूलपानीबाट उनीहरू पक्राउ परेपछि प्रहरीले तिनैवटा जिल्लामा विशेष निगरानी बढाएको हो। लामो समयसम्म चोरी गर्ने गिरोह पक्राउ नपर्दा स्थानीय आजित थिए। प्रहरीले नै चासो नदिएको हो कि वा प्रहरीकै मिलेमतो छ कि आशंका गर्न थालिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार मध्यरातमा मात्रै निस्कने, केही मिनेटभित्रैमा चोरेर भाग्ने तथा चोरी गरेका सामानहरू ट्याक्सीमा राखेर भाग्ने भएकाले उनीहरूलाई सजिलै पक्राउ गर्न सकिएको थिएन। काठमाडौं प्रहरी परिसरले विभिन्न वृत्तसँग सहकार्य गरेर घटनाको अनुसन्धान गरिरहेको थियो।
एसएसपी थापा भन्छन्, ‘अपराध गर्नेहरू केही समय पो भाग्लान र। एक न एक दिन त पक्राउ परिहाल्छन्। चोरी भएका एरियाको सीसीटीभी फुटेज हेरेर प्रहरीले लुटेरा ग्याङ समातेको हो। अन्य व्यक्ति पनि संलग्न छन्। उनीहरूको खोजी कार्य जारी छ।
बिहान हिँड्न निस्किएका, रातको समयमा एक्लै हिँड्नेहरूको पैसा, सुनका गहना अनि मोबाइल लुट्न समूह नै सक्रिय रहेको भन्दै प्रहरी कार्यालयहरूमा उजुरी पर्ने काम बढीरहेको थियो। जेन–जी आन्दोलनपछि उपत्यकामा ६०–७० बढी चोरीका घटना घटे। यही समूहविरुद्ध काठमाडौं प्रहरी परिसरमा मात्रै ३० वटा उजुरी दर्ता भएका छन्। यो संख्या बढ्दो छ।
यही बुधबार साँझ भने मूलपानीमा प्रहरी र लुटेरा समूहको जम्काभेट भयो। लुटेरा समूहले प्रहरीलाई आक्रमण गरेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको थियो। बुधबार बेलुका ६ बजेबाट सुरु गरेको प्रहरीको विशेष अप्रेसन बिहान ३ बजेसम्म चलेको थियो। बिहान ३ बजे कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीमा उक्त समूह भेटिएपछि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको थियो। गोली लागेर घाइते भएका व्यक्ति हुन्, काभ्रेका २३ वर्षीय विनय तामाङ। उनी नै लुटेरा समूहको नाइके हुन्। रातमा लुटपाट मच्चाउने उनीहरू दिउँसोको समय भने कसैले ट्याक्सी चलाउथे। कोही ग्यारेजमा काम गर्ने त कोहि प्राइभेट कार चलाउने र कोही सुन पसलमा काम गर्थे।
अनुसन्धानमा पक्राउ परेको लुटेरा समूहका अधिकांश जेन–जी आन्दोलनका क्रममा भदौ २४ मा प्रहरी हिरासतबाट भागेका थुनुवाहरू रहेको खुलेको एसएसपी समेत रहेका थापाले जानकारी दिए। आन्दोलनको क्रममा भागेका उनीहरूले समूहले नै बनाएर लुटपाट सुरु गरेका थिए। भदौ २४ मा प्रहरी हिरासतबाट भागेकाहरूले समूह बनाएर भदौ ३१ बाट लुट्न थालेका थिए। ३१ गते कुमारीगालमा साढे ११ बजेतिर सुनको औँठी र ६४ हजार रुपैयाँ लुटिएको भन्दै प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो।
दिउँसो अन्य काम गर्ने लुटेरा समूह ९ बजे समूहका सदस्य सबै जम्मा भएर खाना खान्थे। चोरी गर्ने इलाका छुट्टाएर राती १२ बजेपछि बिहान ४ बजेसम्म लुटपाट आतंक मच्चाउँथे। प्रहरीले राती मोटरसाइकल वा ट्याक्सीमा तीन जना हिँड्नेहरू लक्षित गरेर खोज्न थालेका थिए।
एसएसपी थापा अति जरुरी कामबाहेक रातको समयमा हिँड्डुल नगर्न, गरगहनाको प्रयोगलाई निरुत्साहित गर्न सर्वसाधरण सजग र सचेत हुनुपर्ने बताउँछन्। प्रहरीका अनुसार समूहको मुख्य योजनाकार २३ वर्षीय विनय तामाङ हुन्। प्रहरीमा तामाङको चोरी, लुटपाट र डकैतीको आपराधिक रेकर्ड छ। उनी २०७९ सालमा पहिलोपटक चोरीमा समातिएका थिए। त्यसपछि २०८२ मा डाँका चोरी गरेको भन्दै प्रहरी हिरासतमा रहेको बेला महाराजगन्ज प्रहरी वृत्तको हिरासतबाट भागेका हुन्।
ट्याक्सी डाईभर रहेका २४ वर्षीय आयन माझीको पनि प्रहरीमा आपराधिक रेकर्ड छ। दिउँसो उनी प्राइभेट गाडी चलाउँथे। प्रहरीले समाएको मध्ये सबिन माझी पनि पटके चोर हुन्। अर्का आरोपी मनीष रसाइली सुन पसलमा काम गर्ने र लुटेका सुन बिक्री गर्ने गर्थे। पेमा तामाङ पनि फरार कैदी हुन्। सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ पनि पक्राउ परेका छन्। उनीहरू सबै जना पटक चोर हुन्। प्रहरीका अनुसार लुटपाटमा प्रयोग गरेको ६ वटा मोटरसाइकल, एउटा कार र एउटा ट्याक्सी नियन्त्रणमा लिइएको छ।