: नेकपा एमालेका महासचिव शंकर पोखरेलले फागुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका छन्। प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पोखरेलले निर्वाचन आयोगको कार्यतालिका अनुसार चुनावी प्रचार प्रसार सुरू हुनुअघि फाल्गुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका हुन् ।
घोषणापत्रका विषयमा पार्टीहरूले विज्ञहरूसँग छलफल समेत गरिसकेको उनले बताए। त्यस्तै महासचिव पोखरेलले अहिले पुरानो पुस्ताविरुद्ध नयाँ पुस्ता भन्दै मनोवैज्ञानिक खाडल सिर्जना गर्ने कोसिस भइरहेको भन्दै परम्पराविपरीतका त्यस्ता कुराहरूबाट जोगिने र समाजलाई नै विभाजन गर्ने कोसिस रोक्ने प्रयास एमालेले गर्ने धारणा राखे।
उनले राजनीतिक दलहरूका बीचमा नीतिगत संवाद पनि आवश्यक नठान्ने तर आफूलाई नयाँ वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गर्ने कुरा उपयुक्त नभएको उल्लेख गरे । कसैले विकल्प दिन चाहन्छ भने नीतिगत बहसमा जान सक्नुपर्ने उनको भनाइ छ ।
त्यसैगरी पोखरेलले एमाले राष्ट्रिय रुपमा तालमेलको पक्षमा नरहेको भन्दै स्थानीय तहका खास कुनै ठाउँमा स्थानीय कमिटीले आवश्यक ठानेको अवस्थामा तालमेल हुनसक्ने बताए। उनले अहिले बालेनको पछि देखिएको भीडका आधारमा चुनावी विश्लेषण गर्न उचित नहुने तर्क गरे ।
अब झापामा दोस्रो पटक बालेन जाँदाखेरि त्यही भीड देखिन्छ कि देखिँदैन भन्ने अनुमान गर्न सुझाव समेत दिए । पोखरेलले अहिले शहरी क्षेत्रमा रास्वपा प्रतिस्पर्धामा नै नरहेको विश्लेषण आइरहेको र ग्रामीण क्षेत्रमा देखिएको प्रभाव समेत चुनाव जित्ने तहसम्मको नभएको दावी गरे।