: बेलायती नागरिकले ३० दिनभन्दा कम अवधिका लागि चीन यात्रा गर्दा भिसा लिन नपर्ने भएको छ। बेलायत र चीनबीच भएको नयाँ समझदारीअनुसार उक्त व्यवस्था छोटो अवधिका यात्राका लागि लागू हुनेछ। जसअन्तर्गत व्यापार तथा पर्यटन प्रयोजनका लागि चीन जाने बेलायती नागरिकले बिना भिसा यात्रा गर्न सक्नेछन्।
बेलायती प्रधानमन्त्री किएर स्टार्मरले चीन विश्वका प्रमुख आर्थिक शक्तिमध्ये एक भएकाले त्यहाँ व्यापार विस्तारका अवसर खोज्ने माग बढ्दै गएको बताए। उनले भने, 'हामी व्यवसायीहरूका लागि प्रक्रिया सहज बनाउँदैछौँ। छोटो अवधिको यात्राका लागि भिसा नियममा गरिएको यो सहुलियतले उनीहरूलाई विदेशमा व्यापार विस्तार गर्न सहयोग पुग्नेछ। यसले स्वदेशमै आर्थिक वृद्धि र रोजगारी सिर्जनामा समेत टेवा पुर्याउनेछ।'
प्रधानमन्त्री स्टार्मर हालः चीन भ्रमणमा छन्। भ्रमणका क्रममा उनले बिहीबार राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री स्टार्मरसँगै बेलायतको एक ठूलो व्यापारिक प्रतिनिधिमण्डल पनि चीन पुगेको छ।