— पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरी चौकी थर्पु तनहुँका अनुसार बिहीबार बिहान करिब ०८:३५ बजे पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १२ प ४७६९ नम्बरको स्कुटर चालकले नियन्त्रण गुमाउँदा स्कुटर सडकमा पल्टिन गई दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक म्याग्दे–३ पसलेका २७ वर्षीय पुरन राना मगर नाकबाट रगत बग्ने, घाँटी, छाती तथा खुट्टामा चोट लागी गम्भीर अवस्थामा घाइते भएका छन् । उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएको छ ।
त्यसैगरी स्कुटरको पछाडि सवार चितवन भरतपुर महानगरपालिका–१६ बस्ने २७ वर्षीया सुमित्रा थापा मगर टाउकोमा गम्भीर चोट लागी घाइते भएकी थिइन् ।
उनको उपचारका क्रममा बिहान ०८:५५ बजे चिकित्सकले मृत घोषणा गरेका छन् । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।