— एक महिनादेखि सम्पर्कविहीन बाँकेको डुडुवा–३, वनकट्टीकी २१ वर्षीया बसन्ती गोडियाको हत्यामा उनकै प्रेमी संलग्न रहेको पत्ता लागेको छ । गोडिया गत पुस १ गते रातिदेखि सम्पर्कविहीन थिइन् ।
उनी सम्पर्कविहीन भए पनि परिवार खोजतलासका लागि प्रहरीमा गएका थिएनन् । छोरी हराएको खबर गाउँमा फैलिए परिवारको ‘इज्जत जान्छ’ भनेर प्रहरीलाई खबर नगरेको आफन्तको भनाइ छ ।
एक महिनापछि डुडुवा–३, वनकट्टीस्थित इनारमा फेला परेको बेवारिसे शवको पहिचान गरेपछि युवतीको हत्या गरिएको खुलेको हो । जिल्ला प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार इनारमा कुहिएको अवस्थामा भेटिएको शव गोडियाको रहेको पुष्टि भएको छ । त्यसपछि अनुसन्धानका क्रममा उनका प्रेमी स्थानीय राकेश बर्माले हत्या गरेको खुलेको हो ।
प्रहरी नायब उपरीक्षक दीपक पातलीले डुडुवा–३ स्थित रामफेरन कुर्मीको घरपछाडि झाडीभित्र रहेको इनारमा सडेगलेको अवस्थामा पहिचान नखुलेको शव फेला परेको थियो । गाउँमा सोधखोज गर्दा स्थानीय पाचु गोडियाकी छोरीको शव भएको पुष्टि भएको उनले बताए । प्रहरी अनुसन्धान अनुसार पोस्टमार्टम रिपोर्टमा मृतकको टाउको र घाँटीका विभिन्न भागमा चोट लागेको देखिएकाले हत्या गरिएको पुष्टि भएको बताए ।
प्रहरीका अनुसार महिला हराएको औपचारिक जानकारी नभए पनि गाउँघर र घटनास्थल आसपास बुझ्दा बसन्ती भारतको नानपारास्थित मामाघर गएको बताइएको थियो । अनुसन्धानका क्रममा मृतकको छिमेकी युवक बर्मासँग प्रेम सम्बन्ध रहेको खुलेको थियो । सम्बन्धमा खटपट भएका कारण योजनाबद्ध रूपमा बर्माले गोडियाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलको अवस्था, पोस्टमार्टम रिपोर्ट, बर्माको साविती बयानबाट प्रेममा भएको खटपटका कारण हत्या गरेर शव इनारमा फालेको पुष्टि भएको प्रहरीले बताएको छ । बर्मालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गराएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।