मुख्य समाचार
अरिजीत सिंहले चलचित्र गायन अब रोक्ने घोषणा
अरिजीत सिंहले चलचित्र गायन अब रोक्ने घोषणा

अहिलेको समयमा सर्वाधिक लोकप्रिय भारतीय गायकहरूमध्येका एक हुन्, अरिजीत सिंह । उनले आफ्नो सांगीतिक करियरमा कैयौँ सुपरहिट गीतहरू दिएका छन् । चलचित्र गायनमा त उनले कब्जा नै जमाएका छन्।

तर हिजो मंगलबार साँझ अकस्मात् उनले चलचित्र गायन अब रोक्ने घोषणा गरे । सामाजिक सञ्जालमार्फत गरेको उनको त्यस्तो घोषणापछि फ्यानहरू अचम्ममा परे । किन ? भनेर प्रश्नहरू गर्न लागे।




यद्यपि अरिजीतले संगीतसँग नाता जारी रहने र संगीत बनाइरहने प्रतिबद्धता भने गरेका छन् । आखिरीमा चलचित्र गायनका कारण विश्वभर पहिचान बनाउन सफल उनले किन ४० वर्षको उमेरमै यो क्षेत्र छोड्ने घोषणा गरे ?

फिल्ममेकिङमा अरिजीत




बर्फी, जग्गा जासूस, लूडो, मेट्रो इन दिनोंजस्ता अनुराग बसुका धेरै फिल्मका गीत अरिजीतले गाएका छन् । ती मध्ये केही गीतहरू निकै हिट पनि छन् । उनै अनुरागले विश्वभरका फ्यानहरूलाई अरिजीतको निर्णयले अचम्म पारे पनि आफूलाई त्यस्तो केही नलागेको बताएका छन् । आफूले अरिजीतलाई लामो समयदेखि चिन्ने बताउने उनले अरिजीतले गायनबाहेक जिन्दगीमा धेरै थोक गर्ने चाहेको बताए ।

उनका अनुसार अरिजीत सिंह फिल्ममेकिङमा असाध्यै रुचि राख्छन् । त्यस्तै स्कुल खोल्ने र बच्चाहरूसँग समय बिताउने समेत उनको इच्छा छ । अब अरिजीतलाई त्यस्तै फरक रूपमा देख्न पाउने उनले अनुमान गरे । बीबीसी हिन्दीले अब अरिजीत सिंह फिल्ममेकिङमा आउन लागेको लेखेको छ । निर्देशकका रूपमा अरिजीत सिंहले आफ्नो पहिलो हिन्दी फिल्ममा काम सुरु गरिसकेको समाचारको दावी छ ।

बीबीसी हिन्दीकाअनुसार उक्त फिल्म जंगल एडभेन्चर हुने र त्यसमा नवाजुद्दीन सिद्दीकी मुख्य भूमिकामा देखिनेछन् । हाल त्यस फिल्मको सुटिङ शान्ति निकेतनमा चलिरहेको छ । फिल्मको कथा अरिजीत सिंह र उनकी पत्नी कोयल सिंहले संयुक्त रूपमा लेखेका छन् ।

मुम्बईमा बस्दैनन् अरिजीत

बलिउडका गीतहरूबाट छाएका अरिजीत सिंह आफ्नो धेरैजसो समय मुम्बईमा बिताउँदैनन् । बरू पश्चिम बंगालको मुर्शिदाबादमा बिताउँछन् ।

त्यहाँ उनी आफ्नी पत्नी कोयल र दुई छोराहरूसँग बस्छन् । त्यहीँबाट नै उनले आफ्नो सांगीतिक करियर, केही वर्ष पहिले खोलेको म्युजिक कम्पनी र फिल्म प्रोडक्सन हाउसको बागडोर सम्हाल्छन् ।

उनले आफ्नो पैतृक शहर मुर्शिदाबादस्थित घरमा रेकर्डिङ स्टुडियो सेट-अप गरेका छन् । पछिल्लो केही समयदेखि उनी त्यहीँबाट आफ्ना गीतहरू रेकर्ड गर्ने र कम्पोज गर्ने काम गर्दै आइरहेका छन् ।

हालै संगीतकार जोडी सलीम-सुलेमानका सलीम मर्चेन्टले त्यही स्टुडियोमा गएर अरिजीत सिंहको आवाजमा एउटा गीत पनि रेकर्ड गराएका थिए ।

उनै सुलेमानका अनुसार फिल्म मेकिङ अरिजीतको पुरानो सपना हो । अब त्यसैलाई पूरा गर्न लागि परेको उनको भनाइ छ । आफूले उनको निर्णयलाई धेरै सम्मान गर्ने सुलेमानले बताए ।

अरिजीत सिंह सत्यजीत रेको सिनेमाबाट निकै प्रभावित छन् । केही वर्ष पहिले उनले आफ्ना संगीत गुरु राजेन्द्र प्रसाद हजारीको जीवनमा आधारित भएर बाङ्ग्ला भाषामा एउटा फिल्मको निर्माण र निर्देशन समेत गरेका थिए ।

अरिजीत सिंहका पारिवारिक मित्र र मुर्शिदाबादमै बस्ने अनिलावा चटर्जीका अनुसार अरिजीत एक-एक वटा हिन्दी र बाङ्ग्ला फिल्म बनाउन व्यस्त छन् । यी दुवै फिल्मको सुटिङ पश्चिम बंगालका फरक-फरक ठाउँमा भइरहेको छ ।

रियालिटी शो ‘फेम गुरुकुल’ बाट सुरु भएको सफर

सन् २००५ ताका अरिजीत सिंह १८ वर्षका थिए । त्यसबेला उनले गायन रियालिटी शो ‘फेम गुरुकुल’ मा भाग लिएका थिए । त्यस शोका जज शायर तथा गीतकार जावेद अख्तर, संगीतकार शंकर महादेवन र गायक केके थिए ।

तर, अरिजीत शोबाट बाहिरिन पुगे । त्यसबेला जज जावेद अख्तरले उनलाई ढाडस दिँदै ‘शोका लागि धेरै घाटा’ भएको बताएका थिए ।

त्यसको केही वर्ष अरिजीत सतहमा देखिएनन् । तर उनले संगीत छाडेका थिएनन् । बरू राम्रो अवसरको खोजीमा थिए । उनलाई बलिउडमा पहिलो ब्रेक सन् २०११ मा मिलेको थियो । त्यस साल रिलिज भएको इमरान हाश्मी स्टारर र मोहित सुरी निर्देशित फिल्म मर्डर २ को गीत ‘फिर मोहब्बत’मा उनले स्वर दिएका थिए । उक्त गीट हिट भएको थियो ।

उक्त गीतको सफलतापछि अरिजीत सिंहलाई अन्य धेरै अफरहरू आउन थाले । उनको ठूलो ब्रेक भने सन् २०१३ मा आएको ‘आशिकी २’ को गीत ‘तुम ही हो’ हो ।

सुपरहिट गीतहरूको सिलसिला

‘फिर मोहब्बत’, ‘तुम ही हो’ र ‘बिन्ते दिल’ जस्ता सुपरहिट गीतहरूबाहेक ‘फिर ले आया दिल’, ‘बदतमीज दिल’, ‘कबीरा’, ‘इलाही’, ‘ऐ दिल है मुश्किल’, ‘चन्ना मेराया’, ‘कलंक’, ‘केसरिया’, ‘कभी जो बादल बरसे’ जस्ता गीतहरूलाई आफ्नो आवाज दिएर अरिजीतले सफलताको नयाँ इतिहास लेखे।

उनी युवा वर्गमा निकै लोकप्रिय साबित भए । चाहे इन्स्टाग्राम रिल्स होस्, युट्युब होस् वा फेरि स्पोटिफाई, अरिजीत सिंह पछिल्ला केही वर्षदेखि सबैभन्दा धेरै स्ट्रिम गरिने गायकहरूमा गनिन थाले।

अरिजीत सिंहले आफ्नो सुरुवाती करियरमा नामुद संगीतकार प्रितमलाई केही समय असिस्ट गरेर संगीत सिकेका थिए । प्रितमको संगीत निर्देशनमा नै उनले बर्फी, ये जवानी है दीवानी, जग्गा जासूस, तमाशा, ऐ दिल है मुश्किल र ब्रह्मास्त्रका गीतहरू गाएका थिए । बलिउडमा दुवैको जोडीलाई निकै सफल मानिन्छ।

अरिजीत सिंहले प्रितमबाहेक म्युजिक डाइरेक्टरका रूपमा शंकर-एहसान-लोय, विशाल-शेखर, मिथुन, मोन्टी शर्मा जस्ता संगीतकारहरूसँग पनि काम गरेका छन् ।

राष्ट्रिय पुरस्कार र पद्मश्री पनि पाए

अरिजीत सिंहले दुई पटक राष्ट्रिय पुरस्कार र आठ पटक फिल्मफेयर पुरस्कार पाइसकेका छन् । सन् २०२५ मा भारत सरकारले उनलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरेको थियो ।

अरिजीतले पहिलो पटक राष्ट्रिय पुरस्कार सञ्जय लीला भन्साली निर्देशित फिल्म पद्मावत (२०१८) मा गाएको गीत ‘बिन्ते दिल’का लागि जितेका थिए । उक्त गीतको संगीतकार उनै सञ्जय लीला भन्साली थिए ।

रोचक कुरा के छ भने, सन् २००७ मा रिलिज भएको फिल्म ‘साँवरिया’ का लागि भन्सालीले अरिजीतलाई एउटा गीत गाउन लगाएका थिए । तर पछि निर्देशकले अरिजीतलाई हटाएर त्यही गीत अरू कसैबाट गाउन लगाएका थिए ।

दोस्रो पटक अरिजीतले राष्ट्रिय पुरस्कार ब्रह्मास्त्र (२०२२) को गीत ‘केसरिया’का लागि पाएका थिए । त्यस फिल्ममा रणबीर कपूर र आलिया भट्टमा फिचर्ड गरिएका छन् ।

बीबीसी हिन्दीबाट ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पपगायक सुगम पोखरेलले आफ्ना मौलिक गीतलाई एआईबाट तोडमोड गरेर डिजिटल प्लाटफर्ममा हाल्नेविरुद्ध कानुनी कार्वाहीको चेतावनी दिएका छन् । उनले संगीतकर्मी समेत रहेका प्रधानमन्त्री बालेनको ध्यानाकर्षण पनि गराएका छन् । सामाजिक सञ्जालमार्फत सुगमले आफ्ना गीतलाई त्यसरी सोसल मिडियामा पोस्ट गर्नेको एकाउन्टको स्क्रिन सट पनि सेयर गरेका छन् । उनले यस्तो कार्य गैरकानुनी रहेको बताउँदै कानुनी दायरामा ...
। पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारेको हलिउड फिल्म ‘तेन्जिङ’को प्रदर्शन ९ अक्टोबरमा हुने भएको छ । नेपालमा छायांकन भएको यो फिल्ममा शेर्पाको भूमिकामा गेन्डेन फुन्टसोक र एडमन्ड हिलारीको भूमिकामा टम हिडल्टसनले अभिनय गरेका छन् । प्रविधि कम्पनी एप्पलले यो फिल्म निर्माण गरेको हो । एप्पल प्लसमा चाहिँ १६ अक्टोबरमा आउनेछ । यो फिल्मलाई सगमाथा क्षेत्र, ...
। काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’को औपचारिक शुभारम्भ गरेको छ । महानगरले शुक्रबार खुलामञ्चमा विशेष कार्यक्रम आयोजना गर्दै महोत्सवको सुरुआत गरेको हो । महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले महोत्सवको उद्घाटन गरिन् । महोत्सवको पहिलो दिन अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ निर्देशित ‘सवारी साहित्य’ र इशान भुषाल निर्देशित ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन गरियो । महानगरपालिकाका अनुसार ...
। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नयाँ चलचित्र ऐनलाई समयसापेक्ष, व्यावहारिक र चलचित्रकर्मीहरूको चाहनाअनुरूप निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि मौजुदा ऐनमा सुधार आवश्यक रहेको औंल्याए । सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्रले कुनै पनि राष्ट्रको आत्मा र समाजको मनोदशा प्रतिविम्बित गर्ने उल्लेख पनि गरे । चलचित्र ...
। काठमाडौंमा ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ आयोजना गर्न काठमाडौं महानगरपालिकाले बजेट विनियोजन गरेको छ । बिहीबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यसबारे उल्लेख गरिएको हो । काठमाडौं महानगरभित्र निजी तथा सार्वजनिक भौतिक संरचनाहरूको बीमा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने घोषणा बजेटमा गरिएको छ । त्यसैगरी ‘नगर–नगर साझेदारी कार्यक्रम’ का लागि आवश्यक बजेटको व्यवस्था गरेको काठमाडौं महानगरले ...