— हिमाली जिल्ला मनाङको माथिल्लो भेगमा हिउँ परिरहेको छ । स्थानीयका अनुसार बुधबार बिहान १ बजेदेखि हिउँ परिरहेको छ ।
यसअघि कात्तिक १० र ११ गते हिमपात भएकोमा मंसिर र पुस महिनामा हिउँ परेको थिएन । माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टंकी मनाङ गाउँ, घ्यारु, ङावल लगायत गाउँ हिउँले ढाकिएको मनाङका स्थानीय सगर गुरुङले जानकारी दिए ।
उनका अनुसार मनाङ गाउँतिर करिव १ फिट जति हिउँ परेको छ । उनले अब खेती गर्ने बेला भएकाले किसान खुसी भएको बताए । उनले पर्यटकलाई हिउँ खेल्न आउन समेत अनुरोध गरे । हिमपातका कारण स्थानीय र पर्यटक प्रभावित भएका छन । नियमित कामका लागि स्थानीय घरबाहिर निस्कन सकेका छैनन । पर्यटक पनि रोकिएका छन ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार अहिले पनि हिमपात भैरहेको छ । चक्रिय अन्नपूर्ण पदमार्गमा रहेका पर्यटक गन्तव्यमा जानबाट रोकिएको उनले बताए । 'अहिले पर्यटक त्यति धेरै त छैनन् । पर्यटकीय गन्तव्य तिलिचो र थोराङलातिर हिउँ छ । हिउँ परेको नरोकिएसम्म पर्यटकलाई गन्तव्यमा नजान भनेका छौं' उनले भने ।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार माथिल्लो मनाङ (मनाङ ङिस्याङ) गाउँपालिकामा रातीदेखि हिमपात भैरहेको छ । सदरमुकाम चामेमा हिउँ पर्न रोकिएर पानी परिरहेको छ ।
‘तल्लो मनाङ (नासों गाउँपालिका) को अधिकांश ठाउँमा पानी पर्नुका साथै मौसम बदली छ । नार्पाभूमितिर गोठाला १०-१२ जनाबाहेक छैन भन्ने बुझिन्छ । त्यता कसैसङ्ग सम्पर्क भएको छैन, सायद त्यतातिर पनि हिउँ परेको हुन सक्छ' उनले भने ।
उनले माथिल्लो मनाङ कतै कतै २ फिटसम्म हिउँ परेको जानकारीमाआएको बताए । हिउँ परेपछि गाउँले र पर्यटक प्रभावित भएका छन । तिलिचो जाने त खासै छैनन । थोरङ्ला पास जाने केहि छन, उनीहरुलाई अहिले गन्तव्यमा जान रोक लगाएका छौं' उनले भने ।