— त्रिशूली किनारमा भेटिएको गणपति डिलक्स बस उत्खनन कार्य १७ दिनपछि बन्द गरिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५, दोङद्राङबेसीस्थित त्रिशूली नदी किनारमा गत पुस २७ गते गाडीको केही भाग फेला परेपछि बस उत्खनन कार्य सुरु गरिएको थियो ।
उत्खननका क्रममा २०८१ असार २८ गते चितवनको भरतपुर–२९, सिमलतालबाट पहिरोसहित त्रिशुलीमा खसेका दुई वटा गाडीमध्ये गणपति डिलक्स रहेको पुष्टि भएपछि उत्खनन कार्यलाई थप तीव्रता दिइएको थियो । सोमबार साँझ एउटा मानव अवशेषसमेत फेला परेको थियो ।
उक्त अवशेष थप परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । उत्खनन गर्दा देखिएको गाडीको भाग सबै पार्टपुर्जा काटेर निकालिएकोले थप उत्खनन कार्य बन्द गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिवलाल तिवारीले कान्तिपुरलाई जानकारी दिए । ‘उत्खनन गर्न सम्भव भएको भाग सबै निकालिएको छ, थप सम्भव नभएपछि काम बन्द गरिएको छ,’प्रजिअ तिवारीले भने ।
तनहुँको मिलन चेनपुली कम्पनी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले निरन्तर उत्खनन गरिरहेको थियो । गत पुस २७ गते स्थानीय एक व्यक्तिले माछा मार्ने क्रममा गाडीको अवशेष फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । सोही दिनदेखि बेल्चाको प्रयोग गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले बालुवा उत्खनन गर्दै अवशेष निकाल्न थालेको थियो ।
२०८१ असार २८ गते काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर भरतपुरको सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।
दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए । अरु सबै बससँगै बगेका थिए । दुर्घटनामा परेका मध्ये केहीको मात्रै शव फेला परेको थियो ।
बस र यात्रु खोज्न नेपाली सेना र सशस्त्रका गोताखोरसहित वाटर ड्रोन (सोनार) तथा प्रहरीसहित खोजीमा पाँच सय सुरक्षाकर्मी खटिएका थिए । सरकारले थप खोजीका लागि भारतबाट उच्च प्रविधिसहितको गोताखोर समेत ल्याएको थियो ।