— धनकुटा प्रहरीले निर्वाचन सुरक्षा प्रहरीको प्रशिक्षण मिति हेरफेर गरेको छ । धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले निर्वाचन प्रहरीको सम्पर्क र प्रशिक्षण तालिका पुनरावलोकन गरिएको बताए ।
एसपी थापा क्षेत्रीले निर्वाचन सुरक्षा प्रहरीमा उत्तीर्ण भएकालाई माघ १७ मा सम्पर्कमा लिएर १८ गतेबाट मात्र प्रशिक्षण सुरु गर्ने गरी नयाँ तालिका प्राप्त भएको जनाए । यसअघि जारी सूचनामा माघ १२ मा भर्ना छनोट सकेर १५ देखि २४ गतेसम्म प्रशिक्षण दिने भनिएको थियो ।
प्रहरी प्रधान कार्यालयबाट नयाँ तालिका प्राप्त भएकाले छनोट भएकाहरूको सम्पर्क र तालिम मिति हेरफेर गरिएको उनले जनाए । तालिमको कार्यविधि सार्वजनिक बिदाका दिनसमेत गरी १० दिन रहने छ । तालिममा सहभागी हुने निर्वाचन प्रहरीको नियुक्ति पनि तालिम सुरु हुने मितिदेखि नै लागू हुने उनले जनाए ।