— कांग्रेसले ‘भिजन १०’ अवधारणामा आधारित घोषणापत्र ल्याउने तयारी गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसले जनतालाई आशा जगाउन सकिने र कार्यान्वयन गर्ने खालका योजना मात्रै कांग्रेसले घोषणापत्रमा ल्याउने बताए ।
कांग्रेसको घोषणापत्रमा मुख्य गरी विकास र सुशासनको क्षेत्रलाई प्राथमिकतामा राखेर तयार ल्याउन लागिएको छ ।
कांग्रेसले पार्टीका सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेकाले सरकारमा पुगेर गरिने कामका प्राथमिकता र योजना थापा स्वयंले तयार पार्न लागेका छन् ।
‘केही दिनभित्रै हामी जनताकामाझ सुशासन केन्द्रित, यथार्थवादी र विश्वसनीय घोषणापत्र ल्याउँदैछौँ, त्यसपछि प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले पनि आफ्नो घोषणापत्र तयार पारेर मतदातामाझ जानुहुनेछ,’ चालिसेले भने । कांग्रेसले समकालीन राजनीतिकका विभिन्न आयमहरुका बारेमा नीतिगत र वैचारिक विमर्श अघि बढाउन प्रत्येक दुई दिनमा डबली संवाद गर्ने घोषणा पनि गरेको छ ।
लामो समयको अन्तरालमा कांग्रेसले १ सय ६५ निर्वाचन क्षेत्रमा नै पार्टीका उम्मेदवार अघि सारेको र त्यसमध्ये पहिलो ठूलो संख्यामा नयाँ अनुहारलाई टिकट दिइएको चालिसेले बताए । १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ६ वटा निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरु नयाँ अनुहारका रहेको उनले बताए ।
निर्वाचनका बेलामा जुलुस, आमसभा र घरदौलो कार्यक्रममा राष्ट्रिय झन्डाको दुरुपयोग नगर्न कांग्रेसले अपील गरेको छ । पार्टीका कार्यक्रममा राष्ट्रिय झन्डाहरुको दुरुपयोग बढिरहेको भन्दै कांग्रेसले आफ्ना पार्टीका कुनै पनि कार्यक्रममा राष्ट्रिय झन्डाको सम्मान बढाउने काममा लाग्न आग्रह गरेको हो । ‘राष्ट्रिय झन्डा पार्टीको कार्यक्रममा जाँदा कहिले कम्मरमा, कहिले टाउकोमा बाँध्ने दृश्य देखिएका छन् । राष्ट्रिय झन्डा भनेको देशको अस्मिता र मयर्दासँग जोडिएको हुन्छ । यसलाई दलगत स्वर्थका रुपमा प्रयोग गर्न मिल्दैन,’ चालिसेले भने,‘यसको मर्यादा राख्नका लागि हामीले देशभरका पार्टी निकाय र कमिटीहरुलाई निर्देशन गरिसकेका छौं ।’