— कर्णाली प्रदेशका हिमाली जिल्लामा उच्च हिमपात भइरहेको छ । मुगु, हुम्ला र डोल्पा जिल्लामा मंगलबार रातिदेखि भारी हिमपात भइरहेको हो । हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार हुम्लाका प्रायः सबै स्थानीय तहमा हिउँ परेको छ ।
उनले दुईदेखि तीन फिटसम्म हिउँ परेकाले यातायात, हवाई सेवा र बिजुली बन्द भएको बताए । ‘लामो समयपछि हिउँ परेकाले किसानहरू निकै उत्साहित छन्,’ उनले भने, ‘जमिनको सुख्खापन हट्दै गएको छ ।’ उनका अनुसार अहिले पनि सिमिकोट बजार पूरै हिउँले ढाकिएको छ । एयरपोर्टमा हिउँ जमेका कारण बन्द छ ।
यस्तै डोल्पामा हिउँ–पानी परिरहेको छ । डोल्पामा मंगलबार राति १२ बजेदेखि हिउँ पर्न सुरु भएको हो । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले उपल्लो डोल्पाका शे–फोक्सुन्डो, डोल्पोबुद्ध, छार्काताङ्सो गाउँपालिकामा लगातार हिमपात भइरहेको बताइन् । हिमपातका कारण हिमाली जिल्लामा चिसोले जनजीवन प्रभावित हुनुका साथै जुम्ला सडक खण्ड बन्द भएको उनको भनाइ छ ।
यस्तै मुगुमा सदरमुकाम बाहेक सबै स्थानीय तहमा हिउँ परेको छ । मुगुमा चार स्थानीय तह छन्, चारै स्थानीय तहमै हिउँ परिरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । खत्याड गाउँपालिकामा हिजो रातिदेखि निरन्तर वर्षा भइरहेको छ । मुगुका अधिकांश लेकाली माथिल्लो क्षेत्र खमाले, जिउका, गम्था, सेरी लगायतका स्थानहरूमा हिमपातसमेत भइरहेको छ । हिउँ नपरेका स्थानमा लगातार पानी परिरहेको छ ।