— रौतहटको गुजरा नगरपालिकाका नगर उपप्रमुख रत्ना लामामाथि कार्यालय परिसरमै कुटपिट भएको छ । सोमबारको कुटपिटको घटना उपप्रमुख लामाले मंगलबार मात्रै सार्वजनिक गरेकी छन् । घटनामा संलग्नलाई कारबाहीको माग राख्दै उनले प्रहरीमा उजुरी दिएकी छन् । घटनामा उनको गाडी तोडफोड भएको छ ।
सोमबार कार्यालय आएर फिल्ड अनुगमनमा निस्केकी उपप्रमुख लामालाई गुजरा नगरपालिकास्थित लमाहा पुलनजिक अपरिचित व्यक्तिले गाडी रोकेर दुर्व्यवहार गरेका थिए । उनी चढेको प्रदेश २–०३–००१ झ ००२१ नम्बरको गाडीमा तोडफोड गरेका थिए । त्यसपछि कार्यालय आएकी उपउप्रमुख लामालाई ई–रिक्सामा आएका २०/२५ जना महिलाले कुटपिट गरेका थिए ।
‘दिउँसो सडकमै गाडी रोकेर दुर्व्यवहार गरे । गाडीको सिसासमेत फुटाए,’ उनले भनिन्, ‘बिना कारण महिलाको हुल आएर कार्यालयभित्र मलाई कुटपिट गरे । कुटपिट गर्नेमाथि कारबाहीका लागि प्रहरीमा निवेदन दिएकी छु ।’ बाटोमा गाडी रोकेपछि ई–रिक्सामा आएका मानिसले सुरुमा मलखाद किन नदिएको भन्दै गालीगलौज गरेका थिए । उपप्रमुख लामाले नगर प्रमुख सन्तलालप्रसाद चौधरीको इशारामा आक्रमण भएको आरोप लगाएकी छन् । नगर प्रमुख चौधरीले उपप्रमुखमाथि भएको कुटपिटको घटनामा आफ्नो संलग्नता नभएको बताए ।
घटनामा संलग्नलाई कारबाहीको माग राखेर उपप्रमुख लामाले निवेदन दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी रुपा लाबुङले जानकारी दिइन् । ‘कार्यालयभित्र कुटपिट भएको घटनाको निवेदन आइसकेको छ,’ उनले भनिन्, ‘घटनाबारे अनुसन्धान गरिरहेका छौं । घटनामा संलग्नको पहिचान हुँदैछ ।’