— दुई पटक म्याद थप गरेर आवेदन संकलन गर्दा गोरखामा बल्ल निर्वाचन प्रहरीमा कोटा अनुसारको आवेदन परेको छ ।
जिल्लामा २२ सय ८३ निर्वाचन प्रहरीका लागि पुस २५ गतेबाट माघ १ गते सम्मको समय तोकेर आवेदन संकलन गरिएको थियो ।
पहिलो अवधिमा आवश्यक संख्यामा आवेदन नआएपछि दुई दिन म्याद थप गरेर माघ ३ सम्म आवेदन संकलन भएको थियो । सदरमुकाको जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल २९ गुल्म गोरखाबाट आवेदन संकलन हुँदा न्यून संख्यामा आवेदन परेपछि इलाका प्रहरी कार्यालय ठााटीपोखरी र आरुघाटबाट पनि आवेदन संकलन भएको थियो । चार ठाउँबाट संकलन हुँदा माघ ३ सय १९ सय ६४ जनाले मात्र आवेदन दिएका थिए ।
आवश्यक संख्यामा आवेदन नपरेपछि पुनः दोस्रो पटक शनिबार र आइतबार म्याद थप गरेर आवेदन संकलन भएको थियो । पछिल्लो थपिएको अवधिमा भने ७ सय ८६ जनाको थप आवेदन आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले बताए । ‘२२ सय ८३ निर्वाचन प्रहरी आवश्यक रहेकोमा २७ सय ६० जनाको आवेदन पर्यो,’ उनले भने,‘आवश्यक संख्या भन्दा वढी भएका ३ सय २३ जनालाई बैकल्पीकमा राखेका छौं ।’
निर्वाचन प्रहरीको अन्तिम नतिजा सोमबार साँझ नै प्रकाशित गरिसकेको पनि उनले बताए । जिल्ला प्रहरी कार्यालय गोरखाका लागि आवश्यक २२ सय ४ र सशस्त्र प्रहरीका लागि ७९ जना निर्वाचन प्रहरी भर्ना गरिएको हो ।
निर्वाचन प्रहरीमा छनौट भएकाहरुलाई बुधबार बोलाइएको छ । छनौट भएकाहरुलाई तालिम दिएर निर्वाचनको बेला मतदानस्थलमा खटाइने छ ।