— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् । माघ ५ मा जनकपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको र त्यसमा संक्रमण भएपछि लामिछाने त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत रहेका छन् ।
लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले मंगलबार उक्त जानकारी दिएका हुन् । 'माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा सभापति रवि लामिछानेज्यूको देब्रे खुट्टामा लागेको सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ । त्यसैअनुसार सभापतिज्यू हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ,' आचार्यले भनेका छन् ।
लामिछाने तत्काल सार्वजनिक कार्यक्रममा देखा नपर्ने भएका छन् । चिकित्सकहरूले लामिछानेलाई पूर्ण निको भएपछि मात्रै नियमित काममा फर्किन सुझाव दिएको आचार्यले जानकारी दिएका छन् । 'चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ,' आचार्यले भनेका छन् ।
चितवन-२ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएपछि लामिछाने सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । त्यसपछि उनी कहाँ छन् भनेर चासो बढेको भन्दै स्वकीय सचिव आचार्यले सभापति लामिछाने उपचारमा रहेको जानकारी दिएका हुन् ।