: नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक स्थानहद फुकुवापछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुगेका छन्।
सोमबार साँझ धनगढी विमानस्थलमा ओर्लिएलगत्तै स्थानीय नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा उनको स्वागत भएको थियो। लेखकको पक्षमा नेता–कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए। विमानस्थलबाट सिधै महेन्द्रनगरस्थित निवास पुगेका लेखकले कार्यकर्ताहरूसँग भेटघाट र चुनावी रणनीतिमा छलफल सुरु गरेका छन्।
निवासमा भेट्न पुगेका नेता–कार्यकर्तालाई लेखकले लोकतन्त्र जोखिममा रहेकाले सबै मिलेर कांग्रेसलाई जिताउन लाग्नुपर्ने बताए। ‘संविधान लिकबाट बाहिर भएको छ। लोकतन्त्र जोखिममा छ,’ लेखकले भने, ‘देश अप्ठ्यारो अवस्थामा छ। यस्तो बेलामा सबै साथीहरू मिलेर कांग्रेसलाई जिताउनुपर्छ।’ देशको अवस्था सामान्य नभएकाले संविधानको लिकमा ल्याउनका लागि कांग्रेसले जित्नुपर्ने उनको भनाइ थियो।
गत भदौमा भएको युवा नेतृत्वको जेन–जी आन्दोलनका क्रममा हिंसा भड्किएपछि जाँचबुझ आयोगले उनीमाथि काठमाडौं उपत्यकाबाहिर यात्रा गर्न रोक लगाएको थियो। स्थानहद फुकुवापछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा आएका हुन्। नेपाली कांग्रेसले लेखकको निर्वाचन लड्दै आएको क्षेत्र नम्बर ३ मा कञ्चनपुरका पूर्व पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ।