मुख्य समाचार
डा. गुणराज लोहनीसँग वार्ता : ‘स्वास्थ्य मन्त्रालय नै बीमा बोर्ड सक्षम भएको देख्न चाहँदैन’
डा. गुणराज लोहनीसँग वार्ता : ‘स्वास्थ्य मन्त्रालय नै बीमा बोर्ड सक्षम भएको देख्न चाहँदैन’

स्वास्थ्य बीमा बोर्डले १० वर्षमा १२ पटक नेतृत्व पायो । तर अपवाद बाहेक कुनै पनि कार्यकारी निर्देशक २ वर्ष टिक्न पाएनन् । स्वास्थ्य मन्त्रालयमा नयाँ नेतृत्व आएको केही महिनामै कार्यकारी निर्देशकले राजीनामा दिँदै आएका छन् ।

पछिल्लो समय स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएको भन्दै त्रिवि शिक्षण, गंगालाल जस्ता ठूला अस्पतालले सेवा नै बन्द गरेका छन् ।

स्वास्थ्य बीमामा देखिएको समस्या के हो, मन्त्रालय र बोर्डबीच किन समवन्यको वातावरण बन्न सकेको छैन लगायतका विषयमा केन्द्रित रहेर बोर्डका पूर्वकार्यकारी निर्देशक तथा अध्यक्ष डा. गुणराज लोहनीसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानी :

स्वास्थ्य बीमा कार्यक्रम असफल हुने दिशातर्फ गएको टिप्पणीहरू आइरहेका छन् । केही ठूला अस्पतालले सेवा नै बन्द गरिसके । बीमा साँच्चै डुब्ने अवस्थामा पुगेको हो ?

स्वास्थ्य बीमा कार्यक्रमको मूल उद्देश्य नै नागरिकलाई उपचारका लागि आफ्नै खल्तीबाट ठूलो रकम खर्च गर्नुपर्ने अवस्थाबाट जोगाउनु हो । आकस्मिक बिरामी पर्दा आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नपरोस् भनेर कार्यक्रम सुरु गरिएको हो ।




आर्थिक जोखिम घटाउने, औषधि उपचारका लागि ‘आउट अफ पकेट एक्सपेन्डिचर’ कम गर्ने र स्वास्थ्य सेवाको पहुँच बढाउन युनिभर्सल हेल्थ कभरेजको सिद्धान्तअनुसार बीमा अघि बढाइएको हो ।

कार्यक्रम सुरु भएको करिब १० वर्ष भइसकेको छ । यस अवधिमा सदस्य संख्या करिब एक करोड हाराहारी पुग्न लागेको छ । नवीकरणको दर ६५ प्रतिशतकै आसपास छ । भूगोलका हिसाबले हेर्दा सबै जिल्ला र पालिकासम्म कार्यक्रम पुगेको छ ।




सरकारको नीतिअनुसार प्रत्येक पालिकामा आधारभूत अस्पताल स्थापना गर्ने र त्यहीँबाट बीमा कार्यक्रममा प्रवेश गराउने व्यवस्था पनि गरिएको छ ।

तर, पछिल्लो समय आर्थिक संकट देखिएको छ । अस्पतालहरूले पाउनुपर्ने रकमको मात्रा निकै ठूलो भएको छ । एउटै अस्पतालको ६० करोडसम्म भुक्तानी बाँकी हुँदा अस्पतालहरूलाई औषधि खरिद, कर्मचारीको तलब–भत्ता, दैनिक सञ्चालनमै कठिनाइ भएको छ । यसमा अस्पताल र बीमा बोर्डलाई दोष दिन मिल्दैन ।

यो संकटबाट बाहिर निस्कने उपाय के हो ?

१० वर्षको अभ्यास हेर्दा, एउटा परिवारबाट वार्षिक ३ हजार ५०० रुपैयाँ प्रिमियम उठाएर औसतमा करिब ८ हजार ५०० रुपैयाँ बराबरको उपचार खर्च भइरहेको देखिन्छ । यो दिगो मोडेल होइन ।

यसकारण तत्काल गर्नुपर्ने तीनवटा मुख्य काम छन् ।

पहिलो– प्रिमियमको पुनरावलोकन ।

यसबारे अध्ययन गरेर स्वास्थ्य मन्त्रालयमा प्रतिवेदनसमेत बुझाइसकिएको छ । प्रिमियम नबढाइ अरू उपाय छैन । सरकारले हरेक वर्ष ३० अर्ब अनुदान दिएर मात्र यो कार्यक्रम चलाउन सक्दैन । यो आत्मनिर्भर प्रणाली हुनुपर्छ ।

दोस्रो– औपचारिक क्षेत्रको अनिवार्य सहभागिता ।

सामाजिक स्वास्थ्य बीमाको सिद्धान्तअनुसार औपचारिक क्षेत्रमा काम गर्ने कर्मचारी, सेना, प्रहरी, शिक्षक, निजामती कर्मचारी सबैको प्रिमियम आम्दानीको आधारमा अनिवार्य हुनुपर्छ भनेर स्वास्थ्य बीमा ऐनमै व्यवस्था छ ।

यो समाजवाद उन्मुख प्रणालीको सुरुवात पनि हो । उच्च आम्दानी भएका वर्गबाट संकलित रकमले आर्थिक रूपमा कमजोर नागरिकको उपचार गर्न सकिने अवधारणा यही हो ।

तेस्रो– बीमा बोर्डलाई संस्थागत रूपमा सक्षम बनाउनु ।

बीमा बोर्डको संगठन संरचना स्वीकृत गरी स्थायी कर्मचारी व्यवस्था गर्नुपर्छ । अहिले करार, काज र अस्थायी कर्मचारीबाट बीमालाई प्रभावकारी रूपमा लैजान सकिँदैन ।

राज्यले प्रिमियम पुनरावलोकन, औपचारिक क्षेत्रको अनिवार्य संलग्नता र बीमा बोर्डको स्थायी संगठन संरचना स्वीकृत गर्दा मात्रै बीमा कार्यक्रमलाई ‘रेस्क्यु’ गर्न सकिन्छ ।

स्वास्थ्य मन्त्री नयाँ आउने बित्तिकै बोर्ड नेतृत्वले राजीनामा दिन्छन् । बोर्डले १० वर्षकै बीचमा १२ पटक नेतृत्व पाइसक्यो । राजनीतिक हस्तक्षेपले बीमा कार्यक्रम गिजोलिएको हो ?

राजनीतिले गाँजेकोभन्दा पनि मन्त्रालयले बीमा बोर्डलाई आफ्नै महाशाखा जस्तो गरी हेर्न खोज्नु मुख्य समस्या हो । बीमा बोर्ड स्वतन्त्र र स्वायत्त संस्था हो । यसलाई मन्त्रालयको महाशाखा जसरी चलाउनु गलत हो । स्वास्थ्य मन्त्रालयले यस्तो व्यवहार गर्दा बीमा बन्द गरेकै बराबर हुन्छ ।

मन्त्रालय आफैं शक्तिशाली रहन चाहन्छ । स्वास्थ्य बीमा बोर्ड स्वतन्त्र र स्वायत्त संस्था हो । मन्त्रालय नै बोर्ड सक्षम बनेको देख्न चाहँदैन । अहिलेसम्मको अभ्यास हेर्दा त्यही देखिन्छ ।

अहिले गरिँदै आएका टालटुले उपायले स्वास्थ्य बीमा कार्यक्रम दिगो हुँदैन ।
सरकारसँग मैले स्पष्ट रूपमा तीन वटा कुरा भनेको थिएँ । प्रिमियम बढाउनुस्, औपचारिक क्षेत्र अनिवार्य गर्नुस् र बोर्डको स्थायी संरचना स्वीकृत गर्नुस् । ती सबैका कागजात मन्त्रालयमा पेस भएका छन् ।

पटकपटक भन्दा पनि सरकारले असहयोग गरेपछि मैले राजीनामा दिनुपर्‍यो ।

सरकारले किन कार्यावन्यन गर्न सकेन त ?

सरकारलाई प्रिमियम बढाउँदा जनताको आलोचना सहनुपर्छ भन्ने डर भयो । त्यो जोखिम लिन नचाहेको देखियो । औपचारिक क्षेत्रमा आम्दानीअनुसार प्रिमियम तोक्दा सचिवको १२ हजार र सहसचिवको ४ हजार हुन आउँछ । यो किन गर्ने भन्ने खालको कुरा आयो ।

आर्थिक वर्ष २०७७/७८ को बजेटमै औपचारिक क्षेत्र अनिवार्य गर्ने उल्लेख भए पनि कार्यविधि नबन्दा कार्यान्वयन हुन सकेन ।

त्यसकारण स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयले मैले सुझाएका तीन उपाय बाहेक अरू विकल्प छैन भनेर बुझ्नपर्छ । अहिले गरिँदै आएका टालटुले उपायले स्वास्थ्य बीमा कार्यक्रम दिगो हुँदैन ।

स्वास्थ्य बीमाले भुइँमान्छेका लागि उपचारमा ठूलो राहत पुगेको छ । तर सरकार किन बीमालाई प्रभावकारी बनाउन चाहँदैन ?

यसको मूल कारण भनेकै राज्यका विभिन्न निकायबीच समन्वयको अभाव र स्वार्थ हो । अहिले श्रम मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष छ । त्यसले पनि स्वास्थ्य उपचारको जिम्मा लिइरहेको छ । तर स्वास्थ्य उपचारको मूल जिम्मेवारी त स्वास्थ्य मन्त्रालयकै हो नि ।

सही बाटो प्रिमियमलाई यथार्थपरक रूपमा बढाउनुपर्छ । औपचारिक क्षेत्रलाई व्यवस्थित रूपमा समेट्नुपर्छ । यसो गर्दा स्वास्थ्य बीमा कार्यक्रम आफैं चल्छ । सरकारलाई बारम्बार अनुदान दिइरहनु पर्दैन ।
त्यस्तै, प्रहरी र सेनाका हकमा क्याबिनेटका निर्णयहरू हेर्दा ओएनएम भइरहेको र सुविधा कति भनेर छुट्टाछुट्टै व्यवस्था गरिन्छ । स्वास्थ्य क्षेत्रको समग्र व्यवस्थापन, विशेषगरी स्वास्थ्य बीमाको ओएनएम गर्ने कुरामा ध्यान दिइएको छैन । यसले स्वास्थ्य बीमाप्रतिको बुझाइ अझै कमजोर रहेको देखाउँछ ।

वर्षेनी खर्च बढ्दै जाने निश्चित हुँदाहुँदै पनि सरकारले दीर्घकालीन वित्तीय जिम्मेवारी किन लिन सकेन ?

सरकारले स्वास्थ्य बीमाका लागि झन्डै १० अर्ब रुपैयाँ मात्रै बजेट छुट्याइरहेको छ । सरकारी अनुदान बढाउँदैमा स्वास्थ्य बीमा दिगो हुँदैन । यो उल्टो बाटो हो ।

सही बाटो प्रिमियमलाई यथार्थपरक रूपमा बढाउनुपर्छ । औपचारिक क्षेत्रलाई व्यवस्थित रूपमा समेट्नुपर्छ । यसो गर्दा स्वास्थ्य बीमा कार्यक्रम आफैं चल्छ । सरकारलाई बारम्बार अनुदान दिइरहनु पर्दैन । बरु भविष्यमा स्वास्थ्य बीमा बोर्डले नै सरकारलाई योगदान दिन सक्ने अवस्थामा पुग्न सक्छ ।

स्वास्थ्य मन्त्रालयकै अवरोधका कारण बीमा कमजोर बनेको आरोप छ । खासमा समस्या नीतिमा हो कि नियतमा ?

मन्त्रालय बीमाको विषयमा रमाएको छ भन्ने मेरो बुझाइ हो । खास समस्या नियतमा देखिन्छ । कार्यक्रमलाई स्वायत्त र शक्तिशाली बनाउनेभन्दा पनि नियन्त्रणमा राख्न खोजिएको अवस्था हो । यही सोच र कर्मचारीस्तरको सीमित बुझाइका कारण स्वास्थ्य बीमा कार्यक्रमले आफ्नो पूर्ण सम्भावना प्रयोग गर्न पाएको छैन ।

नीतिगत रूपमा स्वास्थ्य बीमा कार्यक्रम राम्रो देखिए पनि कार्यान्वयनका क्रममा पटकपटक समस्या देखिनुको मूल कारण के हो ?

खासमा समस्या अरू केही होइन, हाम्रो बुझाइमै हो । संसद्ले बनाएको स्वास्थ्य बीमा ऐनलाई अक्षरश: कार्यान्वयन गरिदिने हो भने कुनै समस्या हुँदैन । ऐनमा जे लेखिएको छ, मैले भनेको कुरा पनि त्यही हो । तर समस्या, ऐन कार्यान्वयन गर्नै खोजिएको छैन ।

संविधानमा लेखिएका धेरै विषयमा जस्तै, स्वास्थ्य बीमाको हकमा पनि सम्बन्धित निकायहरूले यसको वास्तविक ‘ओनरसिप’ लिएका छैनन् । ऐनअनुसार काम भयो भने स्वास्थ्य बीमा बोर्ड आफैं सक्षम र स्वायत्त (अटोनोमस) हुन्छ । तर त्यो अवस्था देख्न चाहिएको छैन ।

तर, मन्त्रालयकै कर्मचारी बोर्डको नेतृत्व असक्षम हुँदा यस्तो अवस्था आएको आरोप लगाउँछन् नि ?

बोर्ड अध्यक्ष मन्त्रालयकै सिफारिसमा नियुक्त हुने हो । कार्यकारी प्रमुख पनि मन्त्रालयकै सिफारिसमा छनोट समिति बनाएर सरकारले नियुक्त गर्छ । अन्य सदस्य पनि स्वास्थ्य मन्त्रालयबाटै आउने हुन् । यस्तो अवस्थामा बोर्ड होइन मन्त्रालय असक्षम भयो भन्ने बुझ्नुपर्छ ।

अस्पतालमा बीमाका बिरामीलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिन्छ । लामो लाइन र सेवाको गुस्तस्तर पनि राम्रो छैन भन्ने गुनासा छन् । यसलाई कसरी हेर्नुहुन्छ ?

यसमा अस्पतालको खासै दोष छैन । समयमै भुक्तानी गर्दा अस्पताललाई कडा रूपमा मोनिटरिङ गर्न सकिन्छ । यदि अनियमितता भेटियो भने तुरुन्त कारबाही गर्न सकिन्छ । सेवाप्रदायक संस्थालाई समयमै पैसा दिन नसक्दा नै बीमा सेवा राम्रो नहुने, लामो लाइन लाग्ने जस्ता समस्या देखिएका हुन् ।

समयमै भुक्तानी गर्दा बीमाका बिरामीलाई गुणस्तरीय सेवा अस्पतालले दिन्छन् । अस्पतालले बीमा बिरामीलाई प्राथमिकता दिन्छु भन्ने अवस्था आउँछ । त्यसैले यो समस्या अस्पतालको भन्दा पनि व्यवस्थापन र वित्तीय कमजोरीको परिणाम हो ।

सरकारले नै स्वास्थ्य बीमा धराशायी बनाउँदै लगेको महसुस तपाईंको कार्यकालमा गर्नुभयो कि ?

आफ्नो स्वार्थमा असर परेपछि जो–कोही पनि त्यसको विरोधमा लाग्छ । औषधि व्यवसायी, ठूला व्यापारी, केही अस्पताल र मन्त्रालयबाट बीमा कार्यक्रमले अपेक्षित समर्थन पाएको देखिँदैन ।

बीमा कार्यक्रमलाई दिगो बनाउन सरकारको तत्काल र दीर्घकालीन भूमिका के हुनुपर्छ ?

दीर्घकालीन रूपमा स्वास्थ्य बीमा ऐन पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ । यो पहिलो सर्त हो ।

प्रिमियम संशोधन गर्ने, औपचारिक क्षेत्रलाई अनिवार्य रूपमा बीमामा समेट्ने र स्थायी संरचना स्वीकृत गर्ने हो भने बीमा कार्यक्रम दुई महिना भित्रै आफ्नै खुट्टामा उभिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानमा नेपाली प्रशिक्षार्थी कामदार पठाउँदा झेल्नुपर्ने झन्झटिलो प्रक्रिया खारेज गर्नेसम्बन्धी प्रस्ताव १ महिनादेखि गायव पारिएको छ। जापानले भिसा दिँदा पनि कामदारलाई अनावश्यक परीक्षा पार गर्नुपर्ने र थप शुल्क लिनेसम्बन्धी निर्देशिका खारेजीको प्रस्ताव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा पुगेको थियो। गत पुस ११ गते बसेको मन्त्रिपरिषद्को बैठकमा उक्त निर्देशिका खारेज गर्नेबारे छलफल ...
: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फेक रेस्क्यु प्रकरणमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी छन्। पक्राउ परेका जयराम र विवेक माउन्टेन रेस्क्यु सर्भिसका, नेपाल चार्टर सर्भिस प्रालिका रविन्द्र अधिकारी र विवेकराज थपलिया, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिका मुक्ति ...
: गृह मन्त्रालयले निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डाको दुरुपयोग भएको पाइएमा कारबाही गरिने जनाएको छ। मन्त्रालय आज विज्ञप्ति जारी गरेर निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न) मा उल्लेख भएको प्रावधान उल्लंघन गरेको पाइएमा कारबाही हुने जनाएको हो। उक्त बुँदामा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली ...
। खाडी मुलुक साउदी अरबसँग कूटनीतिक सम्बन्ध कायम भएको ४८ वर्षपछि श्रम सम्झौता भएको छ । आइतबार राति नेपाल र साउदीबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको हो । साउदीको रियादमा साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्य सहित श्रमिक भर्नासम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा ...
। त्रिभुव विश्वविद्यालय (त्रिवि) को केन्द्रीय कार्यालयमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मसाल जुलुस निकालेको छ। त्रिविअन्तर्गत मानविकी तथा समाजशास्त्र संकायका विभिन्न विभागहरूमा शुल्क समायोजन गर्न माग अखिल क्रान्तिकारीले गरेको तालाबन्दी त्रिवि प्रशासनले सहमतिबेगर ताला खुलाएको थियो। सहमतिविना ताला खोलेको भन्दै क्रान्तिकारी विद्यार्थी संगठनले सोमबार साँझ त्रिविको केन्द्रीय कार्यालयमा मसाल जुलुस गरेको हो । उनीहरूले त्रिविका उपकुलपति, रेक्टर, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम