— राष्ट्रिय परिवर्तन पार्टी संखुवासभाका उम्मेदवार घनश्याम वालिङ राईले २४ बुँदे प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छन् । खाँदबारीमा आइतबार आयोजित कार्यक्रममा उनले उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीका साझा उम्मेदवारका रूपमा आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै मतदातालाई चुनाव चिह्न बाँसुरीमा मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै राईले आफ्नो राजनीति भाषणको होइन, सेवाको भएको स्पष्ट पारे। 'आश्वासन बाँड्ने होइन, कामको रिपोर्ट लिएर बारम्बार जनतामाझ आउने प्रतिनिधि बन्छु,' उनले भने । घर-घरमा उत्पादन उद्यम, पारदर्शी र इमानदार शासन, पानी मुहान संरक्षण, विपद् व्यवस्थापन, युवा तथा खेलकुद विकास, स्थानीय रोजगारी, कृषि र पर्यटन प्रवर्द्धन, स्वास्थ्य तथा सामाजिक सुरक्षाजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ।
उनले घरघरमा रुद्राक्ष, अलैंची, अदुवा, बेसार, तरकारी, मौरीपालन, जडीबुटी र फलफूल खेतीमार्फत स्थानीय आम्दानी बढाउने योजना अघि सारेका छन् । साथै, कमिसन र सेटिङको राजनीतिविरुद्ध कडा कदम चाल्ने र जनताकै बीचमा बसेर जवाफदेही प्रतिनिधि बन्ने प्रतिबद्धता व्यक्त गरे।
हाइड्रोपावर विकासबारे बोल्दै राईले विकास आवश्यक छ, तर पहिरो र विस्थापनको मूल्यमा होइन भन्दै भूसुरक्षा सुनिश्चित नगरी जोखिमपूर्ण आयोजना अघि नबढाइने बताए। पहिल्यै प्रभावित नागरिकलाई न्यायोचित क्षतिपूर्ति र सुरक्षित पुनर्वासको व्यवस्था गर्ने उनको भनाइ छ।
किमाथाङ्का नाका व्यवस्थित गरी व्यापार र रोजगारीका अवसर विस्तार गर्ने, मकालु हिमाल, सभापोखरी, अरुण उपत्यका र मकालु–बरुण राष्ट्रिय निकुञ्जको प्रवर्द्धन गर्दै बाह्रै महिना पर्यटन भित्र्याउने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ ।
युवा कुलत नियन्त्रण, नियमित स्वास्थ्य शिविर, विपद् जोखिम न्यूनीकरण, सरकारी सेवा घरदैलोमै पुर्याउने व्यवस्था र विकास आयोजनाको सार्वजनिक अनुगमन तथा रिपोर्टिङ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राईले भोट मागेर सधैंका लागि हराउने होइन, सधैँ जनतामाझ रहने प्रतिनिधिका रूपमा आफूलाई प्रस्तुत गरेका छन् ।