— गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम, तथ्यहीन तथा अमर्यादित सामग्री फैलाउनेलाई माथिल्लो तहको आदेश कुर्नु नपरी तत्काल कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन् ।
आइतबार गृहमन्त्री अर्यालसहितको सरकारी टोलीले नेपाल प्रहरीको साइबर ब्युरो तथा काठमाडौँको हनुमानढोकास्थित पुरानो प्रहरी परिसरको जीर्ण भवनको स्थलगत अवलोकन गरेको हो । टोलीमा गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा सहसचिव आनन्द काफ्ले सहभागी थिए ।
भोटाहिटीस्थित साइबर ब्युरो कार्यालयमा पुगेर गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न साइबर ब्युरोको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले सामाजिक सञ्जालबाट फैलिन सक्ने भ्रामक, मिथ्या तथा कानुनले वर्जित सामग्रीको सूक्ष्म निगरानी गर्दै अवैधानिक र दर्ताबिनै सञ्चालन भइरहेका सामाजिक सञ्जालको नियमनमा सक्रिय हुन निर्देशन दिए ।
ब्युरो प्रमुख तथा प्रहरी नायब महानिरीक्षक नविन्द अर्यालबाट सेवा प्रवाहबारे जानकारी लिएपछि गृहमन्त्रीले निर्वाचन अवधिमा साइबर ब्युरो अझ सक्रिय भई स्वतःस्फूर्त रूपमा सामाजिक सञ्जालमा फैलिने भ्रम र अवैधानिक पोस्टमाथि तत्काल कारबाही गर्नुपर्नेमा जोड दिए । समाजमा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जालको दुरुपयोग हुन नदिन र फागुन २१ गतेको निर्वाचनको सकारात्मक माहोल कायम राख्न थप तदारुकताका साथ काम गर्न उनले निर्देशन दिए ।
यसै क्रममा गृहमन्त्री अर्यालले नेपाल प्रहरीको पुलिस क्लब पुगेर त्यहाँ राखिएका पुरातात्विक महत्वका मूर्तिहरूको समेत अवलोकन गरे ।