— लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान सम्पन्न भएको छ। घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा विहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे सम्पन्न भएको हो।
निर्वाचनमा २ सय ८६ मत खसेको छ । जसमा प्रदेशसभा सदस्यतर्फ पुरुष ४८ र महिला ३० गरी ७८ जना र स्थानीय तहतर्फ पुरुष १२३ र महिला ८५ गरी २ सय ८ जनाले मतदान गरेका छन् । प्रदेशसभा सदस्यतर्फ ५ र स्थानीय तहतर्फ ८ जना मतदानमा अनुपस्थित भएका छन् ।
लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य र १ सय ९ स्थानीय तहका २ सय १८ प्रमुख उपप्रमुख गरी ३ सय ५ मतदाता रहेकोमा हाल २ सय ९९ मतदाता थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्न ४ प्रदेश सभा सदस्य र एक पालिका प्रमुखले राजीनामा दिएको र एक पालिका प्रमुख रिक्त रहेकाले मतदाता संख्या घटेका थिए ।
अब केहीबेरमा मतगणना गरि आज नै नतिजा घोषाणा गर्ने तयारी भएको निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए । तीन जना राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट आठ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। कांग्रेस–एमाले गठबन्धनबाट तीन, नेपाली कम्युनिष्ट पार्टीबाट तीन र राष्ट्रिय जनमोर्चाबाट दुई जना उम्मेदवार छन् ।
लुम्बिनी प्रदेशबाट महिला, अपांगता÷अल्पसंख्यक र अन्य गरी तीन जना सदस्य निर्वाचित हुँदैछन् । जसका लागि कांग्रेस र एमालेले तालमेल गरी उम्मेदवारी दर्ता गराएका छन्। एमालेको भागमा महिला कोटा परेको थियो भने काँग्रेसलाई अपांग र अन्य समूहबाट परेको थियो । जस अनुसार एमालेबाट मदाने गाउँपालिका–४, गुल्मीकी रामकुमारी झाँक्री उम्मेदवार छिन् ।
कांग्रेसबाट अपांग कोटामा लमही नगरपालिक–३ दाङका बासुदेव घिमिरे र अन्य कोटामा रेसुङ्गा नगरपालिका–३ गुल्मीका चन्द्र बहादुर केसीले उम्मेदवार छन् । उनीहरु कांग्रेसका पुराना नेता हुन् ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीले पनि तीनवटै सदस्यमा उम्मेदवार बनाएको छ । महिला कोटाबाट बराङ्दी गाउँपालिका–१ पाल्पाकी दुर्गा कुमारी भण्डारी, अपांगमा बैजनाथ गाउँपालिका–५ बाँकेका सर्जन बिक र अन्यमा बर्दघाट नगरपालिका–१४ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का बृहस्पति अधिकारीले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय जनमोर्चाबाट महिला र अन्य कोटामा उम्मेद्वार छन् । महिलामा प्युठान नगरपालिका–८ प्युठानकी पद्मा पण्डित र अन्यमा मल्लरानी गाउँपालिका–२ प्युठानका बोम बहादुर खत्रीले प्रतिस्पर्धा गर्दैछन् ।
एमालेबाट निर्वाचित गोपाल भट्टराई, राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरे र तत्कालिन माओवादी केन्द्रका जगप्रसाद शर्माको पदावधि फागुन २० मा सकिदैछ । भट्टराई अन्य, घिमिरे महिला र शर्मा अपांग कोटाबाट सदस्य थिए ।