— एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको आरोप लगाएका छन् ।
गृहजिल्ला झापाबाट शुक्रबार काठमाडौं फर्कने क्रममा सरकारले विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गर्ने काम गरेको अध्यक्ष ओलीको भनाइ थियो ।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले 'माथिबाट आदेश आएको छ' भनेर विमानस्थलमा आफूमाथि अपमानित व्यवहार भएको गुनासो गरे । विमानस्थलमा आफूमाथि गरिएको सो व्यवहारले आफूलाई सभ्य समाजमा नभएको जस्तो भान भएको ओलीले बताए ।
‘अस्ती यताबाट झापा जाँदा मलाई अलि राम्रै व्यवहार गरेको थियो एयरपोर्टहरुमा । हिजो फर्केर आउँदा के-के न सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरेको छ, के गरेको छ ? हैरान पारेको छ,' उनले सुनाए, 'अचम्मै ! कहिले-कहिले विदेश जाँदा पनि चिनेको ठाउँहरुमा हामीलाई त्यस्तो गर्दैन । नचिनेको ठाउँमा परियो भने देखिन्छ नेपालीहरुलाई हेपेको । हिजो एयरपोर्टमा त्यस्तै गरेर हेप्यो । किन त्यस्तो गरेको भन्दा माथिबाट आदेश आएको छ भन्छ । यो सरकार के गर्दैछ भन्दा बेथिति भइराखेको छ, अन्याय भइराखेको छ ।'
अध्यक्ष ओलीले देशलाई फेरि पनि सही बाटोमा अघि बढाउन एमालेले सरकार बनाउनुको विकल्प नभएको पनि दाबी गरे ।