— हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहबाट जाडो छल्न बेंसी झरेका मतदाताको एकिन गर्न विवरण संकलन गरिने भएको छ ।
शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकाबाट जाडो छल्न, औषधिउपचारलगायत विभिन्न कामकालागि बेंसी तथा सहरबजार झरेका मतदाताहरुको एकिन गर्न विवरण संकलन गरिने भएको हो।
हिँउदे सुरु भएसँगै उपल्लो डोल्पाका कतिपय सर्वसाधारणहरु जाडो छल्न, औषधि उपचारलगायतका काम विशेषले तल्लो डोल्पासँगै सहरतिर झरेकाले जनप्रतिनिधिहरुले फागुन २१ को मतदानमा सहभागी गराउन समस्या हुने चिन्ता व्यक्त गरेकाे जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ। ‘जाडो छल्न बेंसी तथा सहरिया क्षेत्रमा झरेका मतदाताहरु मताधिकार प्रयोग गर्नबाट छुट्न सक्ने भन्दै उपल्लो डोल्पाका जनप्रतिधिहरुले लिखित रुपमै निर्वाचनको मिति सार्न माग गरेर जिल्ला निर्वाचन कार्यालय र सुरक्षा निकायलाई आग्रह गर्नुभएको थियो। हिजो प्रमुख जिल्ला अधिकारी जुनु ढकालको अध्यक्षतामा सम्पूर्ण सरोकारवाला पक्षको उपस्थितिमा सोही विषयमा छलफल पनि भयाे,’ जिल्ला निर्वाचन कार्यालय डोल्पाका निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले भने, ‘एक हप्ताभित्र तीन वटै पालिकाबाट बाहिरिएका सर्वसाधारणको विवरण संकलन गर्ने निर्णय भएको छ । त्यसकालागि कर्मचारी समेत तोकिसकिएको छ । पालिकाबाट बाहिरिएका मतदातासँगै मतदानस्थलको अवस्थाबारे पनि विवरण माग गरेका छाैँ ।’
अत्याधिक जाडो बढेपछि उपल्लो डोल्पाका स्कुल कात्तिकदेखि वैशाखसम्मकालागि बन्द गरिएका छन्। 'कतिपय मतदानस्थल विद्यालयमा छन् । त्यही भएर पनि अगाडि नै कसरी समन्वय गर्न सकिन्छ भन्ने कुरा गरिरहेका छौं,’ उनले थपे । एक सातामा सबै विवरण प्राप्त भइसकेपछि हिँउदे सिजन सुरु भएसँगै बाहिरिएका मतदातालाई कसरी लैजाने भनेर सम्बन्धित निकायसँग छलफल गरेर निस्कर्ष निकाल्ने उनले बताए ।
उपल्लो डोल्पा अहिले पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन् । सदरमुकाम दुनैबाट तीन दिनदेखि एक सातासम्म लाग्छ । त्यसमा पनि कात्तिकदेखि नै भारी हिमपात हुने हुने भएकाले चैतअघि उपल्लो डोल्पा पुग्ने बाटाघाटामा बाग्लो हिँउ जमेर आन्तरिक आवागमन बन्द हुन्छ ।
Hardik IVF
Laxmi Sunrise bank
निर्वाचन सार्न माग गर्दै डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकाका अध्यक्षहरुले दुई साताअघि विज्ञप्ती नै पेश गरेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
सरकारले हिमाली क्षेत्रसहितलाई समेटेर एकै पटक निर्वाचनको मिति तोक्दा उपल्लो डोल्पाका २० देखि २५ प्रतिशत मतदाता छुट्नसक्ने उपल्लो डोल्पाका जनप्रतिनिधिको चिन्ता व्यक्त गरेका छन्।
एक पटक निर्वाचन तोक्दा मतदातामात्र होइन् निर्वाचनकालागि आवश्यक सामग्री,कर्मचारी, सुरक्षाकर्मीहरु लैजान पनि समस्याहुने उनीहरुको भनाई छ। उपल्लो डोल्पामा पर्ने २३ वटा मतदान केन्द्रमा कार्यतालिका अनुसार निर्वाचन सम्पन्न गराउनै चुनौती देखिएको जिल्लास्थित सुरक्षा संयन्त्रले जनाएको छ।
उपल्लो तीन पालिकामा तोकीएको मितिमा निर्वाचन गराउन चुनौती भएकाले पूर्णरुपमा हेलिकप्टर प्रयोग गर्नुको विकल्प नरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी रुकबहादुर खड्काले बताए।
पैदल हिँडाएर पठाउँदा २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा एक जना म्यादी प्रहरीको लेक लागेर मृत्यु भएको उनले स्मरण गरे । उपल्लो डोल्पामा खटिने कर्मचारीहरुलाई एक्कासी हेलिकप्टरमा लैजाँदा पनि लेक लाग्न सक्ने भन्दै त्यहाँको वातावरणसित घुलमिल हुन चार/पाँच दिनअघिनै कर्मचारी लैजानुका साथै प्रत्येक मतदान केन्द्रमा एक जना स्वास्थ्यकर्मी पर्ने गरि कर्मचारी खटनपटन गरिने समेत बताइएको छ ।
डोल्पामा कुल मतदाताको सङ्ख्या २४ हजार २ सय ५६ पुगेको छ भने त्यसमा नयाँ १ हजार मतदाता थपिएका छन् । जिल्लामा कुल ६८ वटा मतदान केन्द्र रहेका छन् ।