मुख्य समाचार
बझाङ, बाजुरा, डोटी, डडेलधुरा, दार्चुला, बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात
बझाङ, बाजुरा, डोटी, डडेलधुरा, दार्चुला, बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात

— सुदूरपश्चिमका पहाडी जिल्लामा ढिलो गरी यो वर्षको हिउँदे वर्षा भएको छ । बझाङ, बाजुरा, डोटी, डडेलधुरा, दार्चुला, बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात पनि भएको हो ।

वर्षा र हिमपातका कारण बझाङमा शुक्रबार दिउँसोदेखि नै विद्युत् सेवा अवरुद्ध भएको छ । चार महिना लामो खडेरीले हिउँदे बाली सुक्न लागेका बेला भएको वर्षाले किसानलाई भने राहत भएको छ ।

लामो खडेरीको चपेटामा परेका किसान हिउँदे वर्षा र हिमपातले हिउँदे बाली सप्रिने आशामा हर्षित भएका हुन् । ‘धेरैजसो बाली त खडेरीले सुकिसक्यो,' दुर्गाथलीको चुवावनका दीपक जाग्रीले भने, ‘माटो खरानी जस्तै भइसकेको थियो । हिउँ पर्दा केही ओसिलो भएको छ । थोरै भए पनि राहत भएको छ ।' उनले सिँचाइका लागि हिउँदे वर्षाकै भर पर्नुपर्ने चुवावन जस्तै उच्च पहाडी तथा हिमाली गाउँमा लगाएको गहुँ, जौं, केराउ, मुसुरोजस्ता हिउँदेबाली लामो खडेरीका कारण धेरैजसो सुकिसकेको बताए ।


बझाङका सुर्मा, साइपाल, तलकोट, मष्टा, छविसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । उच्च हिमाली क्षेत्रमा एक फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् । हिमपातसँगै जिल्लामा जाडो बढेको छ ।

बाजुराको गौमुल, बुढीनन्दा, हिमाली लगायतका गाउँपालिकामा हिमपात भएको स्थानीयले बताएका छन् । ‘ढिलै भए पनि धर्ती भिजेको छ । अब फागुनमा लगाउने बालीको लागि भए पनि यो वर्षाले राम्रो हुन्छ,' बाजुरा बडिमालिकाका मदनराज जोशीले भने, ‘हिमाली भेगमा अब आलु लगाउने समय हुँदै छ । यो हिमपातले आलुबाली राम्रो हुन्छ ।'

वर्षासँगै बैतडीको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौली लगायतका उच्च लेकाली स्थानमा हिमपात भएको छ । यस्तै डोटीको गैरा, साउखर्क, डडेल्धुराको हगुल्टे, डोटीको खप्तड क्षेत्रमा पनि हिमपात भएको स्थानियले जानकारी दिएका छन् ।

हिमपात र वर्षाका कारण चिसो बढेको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । हिमपातका बेला समूहमा आगो ताप्ने, विभिन्न गेडागुडी मिसाएर भुम्ला (गेडागुडीको सुप) तथा फर्सी पकाएर खाने यहाँका स्थानीयको चलन छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले देश जलाउने र बनाउनेबीचको लडाइँ देखिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु देश बनाउने काममा जुटेको दाबी गरे । नयाँका नाममा आएका पार्टीहरुको कुनै गन्तव्य नभएको पनि उनले आरोप लगाए । 'केका लागि कुदेको, केका लागि अरुको चरित्र हत्या गरेको त्यो पनि थाा ...
— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डा ओडेर भोट माग्ने गतिबिधि गैरकानुनी र आपत्तिजनक रहेको बताएका छन्। धनकुटा लेडी जेसिसको सातौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले जिल्ला समन्वय समिति धनकुटामा आयोजित कार्यत्रममा मुख्यमन्त्री कार्कीले भने, ‘निर्वाचनमा भोट माग्नका लागि राष्ट्रिय गरिमा झल्काउने सूर्यचन्द्र अंकित झण्डा प्रयोग गर्नु अनुचित हो ।’ चुनाव प्रचारका क्रममा ...
— हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहबाट जाडो छल्न बे‌ंसी झरेका मतदाताको एकिन गर्न विवरण संकलन गरिने भएको छ । शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकाबाट जाडो छल्न, औषधिउपचारलगायत विभिन्न कामकालागि बे‌ंसी तथा सहरबजार झरेका मतदाताहरुको एकिन गर्न विवरण संकलन गरिने भएको हो। हिँउदे सुरु भएसँगै उपल्लो डोल्पाका कतिपय सर्वसाधारणहरु जाडो छल्न, औषधि ...
— सशस्त्र प्रहरी बल (एपीएफ) को लुम्बिनी प्रदेशस्थित विन्ध्यवासिनी वाहिनीले ‘उत्कृष्ट वाहिनी’ अवार्ड प्राप्त गरेको छ । सशस्त्र प्रहरीले २०८२ मा सातवटै प्रदेशका बाहिनीले सम्पादन गरेको कामको मूल्यांकनका आधारमा विन्ध्यवासिनी वाहिनी उत्कृष्ट बाहिनी बन्न सफल भएको हो । बलको २५ औं स्थापना दिवस तथा रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बाहिनीका वाहिनीपति सशस्त्र प्रहरी ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधिसभाका लागि 'विद्रोही' उम्मेदवारी दिएका नेताहरूलाई निष्कासन गरेको छ । पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै उनीहरूलाई निष्कासन गरिएको संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । निष्कासन हुनेहरूमा हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह ...