: रौतहटको चन्द्रपुर नगरपालिकाको क्षतिग्रस्त भवन पुनर्निर्माण हुने भएको छ। गत भदौ २४ को जेनजी आन्दोलनबाट ध्वस्त भएको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माणको लागी प्राविधिक कार्यको सुरुवात भएको छ। आज शुक्रबार पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरबाट आएको प्राविधिक टोलीले उक्त भवनको अवस्थाबारे अध्ययन गरेर गएको छ।
पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरका सह प्राध्यापक डा. क्षितिज चरण श्रेष्ठ, उप प्रध्यापक ई.अरुण पौडेल, ई.कबिन लामिछाने र ई.अरुन सुवेदीको टोलीले क्षतिग्रस्त भवनको अवलोकन गरेका थिए।
आगलागी भएको भवनको कंक्रिट, माटो तथा खरानी विभिन्न प्रविधिबाट परीक्षण गरिने त्यसपछि मात्रै भवन पुनः मर्मत तथा पुनः निर्माण गर्न सकिने पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरका इन्जिनियर अरुण पौडेलले बताए। परीक्षण गर्न लगेको ८-१० दिन पछि यसको रिर्पोट आउने इन्जिनियर पौडेलले बताए। आगलागीबाट भवन, सवारी साधन तथा विभिन्न उपकरणसहित करिब ७ करोड बराबरको क्षति भएको चन्द्रपुर नगरपालिका नगर प्रमुख सञ्जय कुमार काफ्लेले बताए।