— धादिङ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको बताएकी छन् ।
उनको उम्मेदवारी फिर्ताबारे सामाजिक सञ्जालमा हल्ला भइरहेको समयमा कान्तिपुरसँग कुरा गर्दै उनले उम्मेदवारी फिर्ता नलिएको प्रस्ट पारिन् । ‘मैले फिर्ता लिएको छैन । म चुनाव लड्न पाउने/नपाउनेबारे निर्वाचन आयोगमा छलफलमा भइरहेको बेलामा मेरो नामबाट फेक इमेल आयोगमा पठाइएको रहेछ । म यसबारे आयोगमै बुझ्न जाँदै छु,’ उनले भनिन्, ‘कसले यस्तो गरेको हो । म उजुरी गर्छु ।’
जर्मन नागरिकसँग विवाह गरेकी आशिकासँग विदेशी परिचयपत्र छ भन्ने आरोप उनले खेपेकी थिइन् । ‘विदेशी परिचयपत्र छैन । मेरो यतैको पासपोर्ट र यतैको नागरिकता छ,’ उनले भनिन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले धादिङ-१ बाट उम्मेदवारी दिएकामध्ये ईश्वर भारतीबाहेक कसैले पनि फिर्ता नलिएको बताए । ‘अहिलेसम्म यो क्षेत्रबाट फिर्ता लिनेको सूचीमा भारतीबाहेक अरु देखिएका छैनन्,’ उनले कान्तिपुरसँग भने । उनका अनुसार शुक्रबार दिउँसोसम्म देशभरबाट ४९ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।