— धनकुटा बजारको केन्द्र भागमा आधा सताब्दी पुरानो एउटा सामुदायिक भवन छ। करिब २ सय जना अटाउने मञ्चसहितको ठूलो हल छ।
भवनभित्रै महिला र पुरुष शौचालय, चेन्जिङ रुम, अफिस र रिसेप्सन, बरण्डालगायतका सुविधा छन्। यो भवन तत्कालीन धनकुटा नगर योजनाले २०३३/०३४ सालमा बनाएको हो। बिहे, ब्रतबन्ध, छेवर, पास्नी जस्ता धार्मिक, पारिवारिक जमघट र भोजभतेर मात्र होइन, संघसंस्थाका तालिम, प्रशिक्षण, सांस्कृतिक र सांगितीक कार्यक्रम, इण्डोर खेलका अभ्यास र प्रतियोगिताका साथै संस्था र राजनीतिक दलका भेला आयोजनाका लागि यो भवन प्रख्यात छ ।
यी अवसरबाहेक जब कुनै निर्वाचनको प्रसंग आउँछ, यो भवनको विशेष महत्व झनै बढ्छ। पञ्चायत, बहुदल, सक्रिय राजतन्त्र र गणतान्त्रिक व्यवस्थाका हरेक निर्वाचन गतिविधिमा यो भवन केन्द्रबिन्दुमा रहन्छ। २०३६ सालको जनमत संग्रहदेखि लोकतान्त्रिक गणतन्त्रसम्मका हरेक स्थानीय, प्रादेशिक, संघीय निर्वाचनका समयमा यो भवन मुख्य रुपमा प्रयोग हुँदै आएको छ ।
तल्लोकोप्चे घरभएका तत्कालीन धनकुटा नगर पञ्चायतका प्रधानपञ्च राजेन्द्र प्रधान २०३६ पछिका हरेक निर्वाचनका मुख्य कार्यक्रम र गतिविधि यही भवनमा सम्पन्न भएको बताउँछन् । भन्छन्, ‘निर्दल, बहुदल, सक्रिय राजतन्त्र र गणतन्त्रका अहिलेसम्म जेजति निर्वाचन भए सबै यही भवनमा भए ।’ त्यसबेला पूर्वाञ्चलको सदरमुकाम धनकुटा भएकाले यो भवन विभिन्न सार्वजनिक कार्यक्रम आयोजना गर्न बनाइएको उनले बताए।उनले भने, ‘राजा, प्रधानमन्त्री र मन्त्रीहरु आउँदा कार्यक्रम गर्ने स्थान नभएर यो सामुदायिक भवन बनाइएको थियो ।’
२०३६ सालमा भएको जनमत संग्रह, २०३८ र २०४३ सालमा भएको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचन, २०४४ को गाउँपञ्चायत, २०४६ सालको प्रजातान्त्रिक आन्दोलन पछि २०४८ सालमा भएको बहुदलीय संसदीय निर्वाचन, लगत्तै २०४९ को स्थानीय निकाय निर्वाचन, २०५१ को संसदको मध्यावधि निर्वाचन, २०५४ मा स्थानीय निकाय निर्वाचनका गतिविधि पनि यही भवनबाट भएका थिए । २०५६ सालको संसदीय निर्वाचन, सत्रिय राजतन्त्रका बखत २०६२ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गराएको स्थानीय निकायको निर्वाचनका सम्पूर्ण प्रक्रिया यही भवनबाट सम्पन्न भएको धनकुटाका पुराना पत्रकार नगेन्द्र राई बताउँछन्।
निर्दलीय पञ्चायत, बहुदलीय संसदीय व्यवस्था, राजाको एकतन्त्रात्मक शासनमा भएका हरेक निर्वाचनका समयमा यो भवन प्रयोग भएको उनले जनाए। गणतन्त्र स्थापनापछि २०६४ र २०७० मा भएका संविधानसभाका दुवै निर्वाचन, २०७४ र २०७९ सालमा भएका स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन समेत यही भवनले धानेको उनले बताए। राईले भने, ‘पञ्चायतदेखि गणतन्त्रसम्मका हरेक निर्वाचनको मौन साक्षी हो यो घर ।’
निर्वाचन प्रक्रिया सुरु भएदेखि नै यो भवन वरिपरि बाक्लिने भीड, ब्यानर, पोष्टर, दलका नेता कार्यकर्ता, उम्मेदवार, राजनीतिमा चासो राख्ने व्यक्ति, कर्मचारी र सुरक्षाकर्मीको आवतजावतले यहाँको वातावरण नै बेग्लै बन्ने उनले सुनाए। फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएपछि स्थानीयस्तरमा फेरि एक पटक यो भवनको चर्चा सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश हरिशचन्द्र इङनाम छन् ।
यही भवनबाट निर्वाचनका आन्तरिक प्रक्रिया, आदेश, सर्वदलीय बैठक, पत्रकार सम्मेलन, मतदाता सूची दर्ता, कर्मचारी अभिमुखीकरण, उमेद्वारको मनोनयन, मतपेटिका भण्डारण, मतगणना, अन्तिम परिणाम घोषणा, निर्वाचितलाई प्रमाणपत्र वितरणलगायतका प्रक्रिया संचालन हुने छन् । मतपेटिका वितरण, ढुवानी, भण्डारण र मतगणनाका दिनरात अझै अविष्मरणीय हुने २०४६ पछिका प्रायः सबै निर्वाचन कर्मचारीको रुपमा काम गरिसकेका धनकुटा नगरपालिकाका उपसचिव सीताराम गौतम सुनाउँछन्।
चुनावी प्रक्रियाको थालनी र परिणामको पहिलो सूचना यहीबाट जारी हुने उनले जनाए । भन्छन्, ‘विभिन्न दलका नेता, कार्यकर्ता, निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकाय, पर्यवेक्षक, सञ्चारमाध्यमका प्रतिनिधि, कार्यालय सहयोगी र सर्वसाधारण एउटै छानामुनि बसेर लोकतन्त्रान्त्रिक अभ्यासमा सहभागी हुन्छन्,’ उनले भने, ‘वडासदस्यदेखि प्रधानमन्त्रीसम्म चयन गरेको घर हो यो । यही भवनबाट निर्वाचित भएको घोषित भएका सूर्यबहादुर थापा पााच पटकसम्म प्रधानमन्त्री भए, यही घरबाट सुरु भएको प्रक्रियाले सयौं जनप्रतिनिधि वडादेखि मन्त्रिपरिषद्सम्म पुगे।’
यस्ता ऐतिहासिक र महत्वपूर्ण काममा प्रयोग हुँदै आएको भवन पुरानो भएको छ । मर्मत सम्भार अभावमा वर्षाको बेला पानी चुहिनेलगायतका समस्या आउन थालेका छन् । भवनको सुरक्षा र सरसफाइमा ध्यान पुगेको छैन्।
यद्यपि गएको वर्ष १० लाख रुपैयाँ खर्च गरेर भवनको मर्मत सम्भार र रंगरोगन गरिएको धनकुटा नगरपालिकाका योजना प्रशासन तथा अनुगमन अधिकृत सीताराम गौतमले बताए। तर सानोतिनो बजेटले भवन प्रवलीकरण सम्भव नभएको उनले जनाए। यो वर्ष भवन प्रवलीकरणका लागि सहरी विकास तथा भवन निर्माण आयोजनालाई अनुरोध गरी आवश्यक बजेट माग गरिएको जानकारी दिए।
गौतमले आउँदो निर्वाचनका लागि पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक डेस्कटप कम्प्यूटर, टेबल, कुर्सी र सीसी क्यामेरालगायतको व्यवस्थापन धनकुटा नगरपालिकाले गरेको जनाए ।