मुख्य समाचार
निर्वाचन प्रहरी (साविकमा म्यादी प्रहरी)लाई माघ २५ गतेदेखि फिल्डमा खटाइने
निर्वाचन प्रहरी (साविकमा म्यादी प्रहरी)लाई माघ २५ गतेदेखि फिल्डमा खटाइने

— प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना हुने निर्वाचन प्रहरी (साविकमा म्यादी प्रहरी)लाई माघ २५ गतेदेखि फिल्डमा खटाइने भएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत परिचालन हुने गरी छनौट हुन लागेका निर्वाचन प्रहरीलाई १५ माघमा नियुक्ति पत्र दिएर १० दिनसम्म आधारभूत तालिम र त्यसको १० दिनपछि २५ माघदेखि तोकिएको कार्यक्षेत्रमा खटाउन लागिएको हो । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ११० र प्रत्यक्षतर्फ १६५ सदस्य गरी कूल २७५ सिटको एकै दिन चुनाव हुँदै छ । त्यसका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागबाट करिब १ लाख ८८ हजार जनशक्ति चुनावी सुरक्षामा खटिँदैछन् । यसबाहेक नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार १ सय १० गरी कूल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी चुनावी सुरक्षामा तैनाथ गर्न लागिएको छ । २५ पुसबाट ७७ वटै जिल्लाका प्रहरी र सशस्त्रका युनिटबाट भर्ना आवेदन खुलाइएकामा ३ माघसम्म करिब २ लाख जनाले निर्वाचन प्रहरीमा आवेदन दिएकामा उनीहरुको अहिले परीक्षा सञ्चालन भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार देशभर निर्वाचन प्रहरी छनौट कार्य चलिरहेको र केही दिनभित्रै तोकिएको कोटामा जनशक्ति छनौट हुनेछन् ।

‘अहिले निर्वाचन प्रहरी छनौटको काम भइरहेको छ, निर्धारित संख्यामा जनशक्ति छनौट गरी ४० दिन कार्यअवधि तोकेर परिचालन गर्न लागिएको छ,’ प्रवक्ता काफ्लेले भने, ‘सोहीअनुसार १५ माघमा नियुक्ति, त्यसपछि १० दिन तालीम गराएर २५ गतेबाट फिल्डमा परिचालन गर्ने र त्यसको एक महिनासम्म काम गरेर २५ फागुनमा उनीहरुलाई विदाई गर्ने भन्ने छ ।’ निर्वाचन प्रहरीलाई सरकारले ४० दिन कार्यअवधि तोकेमामा १० दिन तालिम र बाँकी एक महिना निर्वाचन सुरक्षामा प्रहरी र सशस्त्रअन्तर्गत परिचालन हुने गरी मापदण्ड बनाएको थियो । निर्वाचन प्रहरीमा भर्ना हुनेले प्रहरी र सशस्त्र प्रहरीका जवानको आधारभूत तलबमान र लत्ताकपडा तथा रासनभत्ताअनुसारको सुविधा पाउनेछन् । जसअनुसार जवानसरहको आधारभूत तलबमानअनुसार हुन आउने रकमअनुसार एकजना निर्वाचन प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाले हुने ४० दिनको ३४ हजार रुपैयाँ तलब, जिल्ला दररेट निर्धारण समितिले तोकेअनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक–फरक), निर्वाचनमा खटाइएको ठाउँमा जान र फर्किनलाई एक पटकका लागि प्रतिव्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्चबापत एकमुष्ट १२ सय रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोसाक भत्ताअनुसार एकसरो कपडाको खर्च उपलब्ध गराइने छ । यसरी दिइने सबै रकम सम्बन्धित निर्वाचन प्रहरीको बैंक खातामा पठाइनेछ ।

निर्वाचनमा खटिने यो जनशक्ति कर्तव्य पालनाका क्रममा घाइते भएमा घाइते स्वयं र मृत्यु भएमा सरकारले तोकेअनुसारको क्षतिपूर्ति रकम नजिकको हकवालालाई उपलब्ध गराइने छ । निर्वाचनअगावै तोकिएको स्थानमा नगई गैरहाजिर हुने, जिम्मेवारी पूरा नगरी भाग्नेलाई तोकिएका कुनै पनि सुविधा नदिइने पनि गृह मन्त्रालयबाट स्वीकृत मापदण्डमा उल्लेख छ । यस्तै कथम् निर्वाचन रद्द भएमा वा स्थगित भएमा तालिममा रहेको भए पनि नियुक्ति स्वतः रद्द/बदर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— माघ ११ गते आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणलगायतका कार्यसम्पन्न भएको उनले जानकारी ...
— सिरहाको मिर्चैया नगरपालिका-७ मा जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । तातृबोटबाट करिब १ किलोमिटर टाढा पर्ने टेनाखोला छेउमा शुक्रबार महिलाको शव भेटिएको हो । स्थानीयबाट जानकारी पाएपछि प्रहरीले घटनाको मुचुल्का गरी शव उठाएको छ । घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । शव जलेको र कुहिएको अवस्थामा रहेकाले ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ डेढ करोड मतपत्र छपाइ सम्पन्न भएको छ । अब ५० लाख मतपत्र छपाइ बाँकी रहेको निर्वाचन आयोगले जनाएको हो । यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने ...
— प्रतिनिधिसभा सदस्यका लागि बैतडीमा स्वतन्त्र उम्मेदवारी दिएका तेजबहादुर चन्दले उम्मदवारी फिर्ता लिएका छन् । कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन्। चतुरबहादुर चन्दको पक्षमा मत माग्न पार्टीको निर्देशन अनुसार चुनावी अभियानमा सक्रिय बनेको तेजबहादुरले बताए । उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन्। बैतडीमा कांग्रेसबाट चन्द, एमालेबाट दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट, ...
वसन्त पञ्चमीमा विद्यालयलाई ५० सेट डेस्क-बेन्च हस्तान्तरण