— निर्वाचन प्रहरीमा माग गरिएभन्दा कम संख्यामा आवेदन परेपछि बाहिर जिल्लाबाट माग ल्याइने भएको छ।
जिल्लामा १ हजार २ सय ८२ जना निर्वाचन प्रहरीको माग भएकोमा १ हजार १ सय ९४ जनाले मात्र आवेदन दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक राजु विष्टका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाका लागि माग भन्दा ८८ जना कमले आवेदन दिएका हुन् । माग बमोजिम आवेदन नपरे पनि अपुग संख्यालाई अन्य जिल्लाबाट मगाइने उनले बताए।
पुस २५ गतेदेखि माघ १ गतेसम्मका लागि दरखास्त आह्वान गरिए पनि आवेदन कम परेपछि माघ ३ गतेसम्मका लागि दरखास्त दिने अवधि बढाइएको थियो ।
आवेदन दिनेहरूले माघ ८ गते माटिकोरे खेल मैदानमा लिखित र मौखिक परीक्षा दिएका छन् । परीक्षाको नतिजा ११ गतेभित्रै सार्वजनिक हुने विष्टले बताए। खोटाङमा १ सय ३६ मतदानस्थलमा १ सय ९५ मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्लामा १ लाख ४७ हजार १ सय २० मतदाता छन् ।