— चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले अन्तत: टिकटकको अधिकांश अमेरिकी स्वामित्व अमेरिकी लगानीकर्तालाई बेचेको छ । झन्डै आधा दर्जन अमेरिकी लगानीकर्ताले टिकटकको कुल ८०.१ प्रतिशत स्वामित्व खरिद गरेका छन् ।
भिडियो सेयरिङ प्लाटफर्म, टिकटकमा अब बाइटडान्सको स्वामित्व १९.९ प्रतिशत मात्र छ । बाँकी स्वामित्व सिल्भर लेक, ओर्याकल र एमजीएक्स हरेकले १५ प्रतिशत र डेल फ्यामिली अफिस, युरी र जुलिया मिल्नरको भर्गो एलआई जस्ता अमेरिकी लगानीकर्ताले खरिद गरेका छन् । योसँगै अमेरिकाको टिकटक इकाइ बाँकी देशको भन्दा फरक भएको छ ।
अन्य सोसल मिडिया प्लाटफर्मको भन्दा फरक र प्रभावशाली मानिने टिकटकको अल्गोरिदम अमेरिकामा अब नयाँ तरिकाले तयार पारिने बीबीसीले जनाएको छ । अमेरिकी इकाइमा अमेरिकी प्रयोगकर्ताहरूको डेटा मात्र प्रयोग गरिनेछ, अन्य देशको डेटा मिसाइने छैन । ‘अधिकांश अमेरिकी स्वामित्व रहेको यस संयुक्त लगानीको कम्पनीले तोकिएको सुरक्षा मापदण्डभित्र रहेर काम गर्नेछ, यसले अमेरिकी प्रयोगकर्ताको डेटा सुरक्षा, अल्गोरिदम सुरक्षा, कन्टेन्ट मोडरेसन र सफ्टवेयर सुनिश्चितताका लागि विशेष ध्यान दिनेछ,’ बाइटडान्सले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।
संयुक्त लगानीको नयाँ इकाइको नेतृत्व प्रमुख कार्यकारी अधिकृत एडम प्रेसेर, चिफ सेक्युरिटी अफिसर विल फ्यारेलले गर्ने सीएनएनले जनाएको छ । अमेरिकी टिकटकको बोर्ड सदस्यमा भने कम्पनीका सीईओ सोउ जी चिउ, ओर्याकल प्रमुखको सचिवालयका कार्यकारी उपाध्यक्ष केनेथ ग्लुएकलगायत रहने तय भएको छ ।
बाइटडान्सले अमेरिकामा रहेको आफ्नो सञ्चालन अमेरिकी लगानीकर्ताहरूलाई नबेचेको भन्दै सन् २०२५ को जनवरीमै यस एपमाथि केही दिन प्रतिबन्ध लगाइएको थियो । टिकटकसम्बन्धी अमेरिकी संघीय सरकारको कानुनलाई त्यहाँको सर्वोच्च अदालतले सदर गरेसँगै गत वर्षको जनवरी १९ मा अमेरिकामा केही घण्टा टिकटक चलेन । तर, जनवरी २० मा राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सपथ ग्रहण गरेकै दिन उनले टिकटकका लागि ९० दिनको समयसीमा थपिदिए ।
अमेरिकामा टिकटकसम्बन्धी विवाद सन् २०१९ देखि सुरु भएको हो । विशेषगरी प्रयोगकर्ताको डाटा सुरक्षा र चिनियाँ सरकारसँगको सम्बन्धलाई लिएर अमेरिकाले यसलाई ‘राष्ट्रिय सुरक्षा खतरा’ का रूपमा हेर्न थालेको थियो । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने पहिलो कार्यकारी आदेश जारी गरेका थिए । त्यो बेला उनले बाइटडान्सलाई ४५ दिनभित्र आफ्नो अमेरिकी व्यापार बिक्री गर्न अल्टिमेटम नै दिए ।
सो प्रतिबन्धविरुद्ध टिकटक अदालत गएपछि संघीय अदालतले ट्रम्पको उक्त आदेशलाई तत्काल कार्यान्वयन नगर्न ‘स्टे अर्डर’ जारी गर्यो । सन् २०२४ मा राष्ट्रपति जो बाइडेनले ‘प्रोटेक्टिङ अमेरिकन्स फ्रम फरेन एड्भर्सरी कन्ट्रोल्ड एप्लिकेसन एक्ट’ नामक कानुनमा हस्ताक्षर गर्दै टिकटकलाई आफ्नो अमेरिकी स्वामित्व बेच्न ९ महिनाको समय दिए । नबेचेमा २०२५ को जनवरी १९ देखि अमेरिकामा टिकटक पूर्ण रूपमा प्रतिबन्ध हुने व्यवस्था गरियो ।
जनवरी २० मा ट्रम्पले राष्ट्रपतिको सपथ लिने बेलामै उनले टिकटकमाथिको प्रतिबन्ध कार्यान्वयन मिति ७५ दिनसम्म स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरे । सन् २०२५ भर उनले कुल ४ पटक प्रतिबन्ध कार्यान्वयनको मिति सारेका थिए । अमेरिकामा १७ करोडभन्दा बढी प्रयोगकर्ता र लाखौँ साना व्यवसायीहरू टिकटकमा जोडिएका छन् ।