— खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले ८ हजार ३ सय ३७ क्विन्टल धान खरिद गरेको छ ।
शाखा प्रमुख पंकजकुमार झाका अनुसार पुस ६ देखि धान खरिद सुरु गरिएकोमा एक महिनाको अवधिमा यति परिमाणमा धान खरिद भएको हो ।
शाखाले यस वर्षदेखि टोकन प्रणालीबाट किसानको धान खरिद गरिरहेको छ । किसानलाई २ सय ७५ थान टोकन वितरण गरिएकोमा २ सय २५ बढी टोकनबाट धान खरिद भइसकेको छ ।
प्रत्येक किसानलाई ४० क्विन्टलको दरले धान खरिदको टोकन वितरण गरिएको छ । आउँदो तीन/चार दिनभित्रै लक्षित परिमाणका धान खरिद भइसक्ने उनले बताए । यस वर्ष शाखाले १० हजार क्विन्टल धान खरिदको कोटा पाएको छ ।
टोकन पाएका किसानबाट लक्ष्य अनुरुप धान नआए प्रतीक्षा सूचीमा राखिएका किसानबाट धान खरिद गरिने उनले बताए । शाखामा यस वर्ष पर्सा, बारा, रौतहट र सर्लाहीसम्मका किसानले धान बिक्रीका लागि ल्याएका छन् ।
यस वर्ष पनि शाखाले सोना मन्सुली धान मात्र खरिद गरिरहेको छ । सोना मन्सुली धानको समर्थन मूल्य संघीय सरकारले यस वर्ष प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा निर्धारण गरेकाले शाखाले पनि सोही मूल्यमा खरिद गरिरहेको छ।