— नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशमलाल चौधरीले उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
निर्वाचन अधिकृतले गैरकानुनीरुपमा आफ्नो उम्मेदवारी रद्द गरेको दाबीसहित चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका हुन् । उनले आफ्नो उम्मेदवारी कायम गरिदिनु भनि अन्तरिम आदेशको माग गरेका छन् ।
उनले आफ्नो उम्मेदवारी यथावत रहँदै निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने मागसमेत गरेका छन् । चौधरीको निवेदन शुक्रबार दर्ता भएको र आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।
जन्मकैदको सजाय पाएर राष्ट्रपतिबाट माफी मिनाहा भए पनि कसुर र कैदको अभिलेख हुने भन्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी रद्द गरेको थियो ।
उनले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।