— हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडौंतर्फ गइरहेको जिप मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुलनजिकै दुर्घटनामा हुँदा सहचालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिपका सहचालक सर्लाही बरहथवा नगरपालिका-१ का १७ वर्षीय रोहन मण्डल रहेका छन् । काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा उनको बिहीबार बिहान मृत्यु भएको हो ।
दुर्घटनामा चालक २५ वर्षीय रामवली साह र अर्का सहयोगी सहचालक बरहथवा नगरपालिका-१ का १६ वर्षीय छोटे पासवान घाइते भएका छन् । दुवै जनाको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी पुस्कर बोगटीले बताए।
सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म प्र ०३–००१ च ६७२१ नम्बरको कुखुरा बोकेको बोलेरो गाडी बुधबार राति १ बजे ब्रेक फेल भएर सडकबाट ७ मिटर तल खोल्सामा खसेको थियो। ५ सय कुखुरा बोकेको उक्त बोलेरो गाडीमा रहेका ३ सय कुखुरासमेत मरेका छन् ।