: स्याङ्जा प्रहरीले लुकाइछिपाए राखेको अवस्थामा बन्दुक र गोलीगठ्ठा नियन्त्रणमा लिएको छ। प्रहरी चौकी विरूवाबाट खटि गएको ’विशेष सर्च अप्रेसन’ टोलीले विरूवा गाउँपालिका-३ सिउँडीबाट ४ नाले भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिउँडीका ७७ वर्षीय तिलबहादुर पुलामी,मिनबहादुर पुलामी र रणबहादुर थापा रहेका छन्। तीलबहादुरको घरबाट २ नाल भरुवा बन्दुक, २२३ ग्राम बारुद, ३१ थान छर्रा, छर्रा बनाउन प्रयोग हुने सिसा र फलामको घोडा बरामद भएको प्रहरीले जनाएको छ।
सोही स्थानका ६५ वर्षीय मिनबहादुर पुलामीबाट एउटा एक नाल भरुवा बन्दुक, १७ थान छर्रा, ५० ग्राम बारुद र दुई थान केप फेला परेको छ । अर्का ६५ वर्षीय रणबहादुर थापाको घरबाट एक नाले भरुवा बन्दुक, २३ थान छर्रा, ३७० ग्राम बारुद र ५ थान केप बरामद गरिएको प्रहरीले जनाएको छ ।
घरमा लुकाइछिपाइ राखेको अवस्थामा हतियार फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइ अनुसन्धान जारी राखेको प्रहरीको भनाइ छ। पक्राउ परेका ३ जनामाथि प्रचलित कानुन बमोजिम कानुनी कारबाही प्रक्रियाअघि बढाएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए।