: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुन २१ गते हुने निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन दिएका छन्। कर्णाली प्रदेश सरकार अन्तगतका मन्त्रालयहरूको आजदेखि सुरु भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचन देखाएर विकास निर्माण र सेवा प्रवाहका काम रोकिन नहुने बताएका हुन्।
मुख्यमन्त्री कँडेलले मन्त्रालय अन्तर्गतका कामहरूको समय तालिका निर्माण भएपनि तालिका अनुसार काम नभएकोमा असन्तुष्टि व्यक्त गरे। उनले कार्यालय प्रमुखलाई आफ्नो योग्यता, क्षमता र लगनशीलता परिणामसहित देखिने गरी काम गर्न निर्देशन दिए। विकास निर्माण र सेवा प्रवाहमा ढिलासुस्ती स्वीकार्य नहुने भन्दै उनले जनताको अपेक्षाअनुसार कामबाटै उत्कृष्टता प्रदर्शन गर्नुपर्ने बताए। उनले निर्वाचन आचारसंहिताले सही नयाँ कामलाई रोके पनि नियमित वार्षिक नीति तथा कार्यक्रममा समावेश भएर स्वीकृत भइसकेका योजना तथा कार्यक्रमको कार्यान्वयनमा कुनै अवरोध नहुने स्पष्ट पारे।
मुख्यमन्त्री कँडेलले स्वीकृत योजना समयमै सम्पन्न गर्न नसक्दा सरकारप्रति जनविश्वास कमजोर बन्ने उल्लेख गरे। विकास आयोजनामा गुणस्तर, समयसीमा र पारदर्शितामा कुनै सम्झौता नगर्न निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले समन्वय र अनुगमनलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए।