। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लाका चार निर्वाचन क्षेत्रमा गरी कुल १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका ६१ र स्वतन्त्र ७२ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा मनिषकुमार साहका अनुसार निर्वाचन क्षेत्र नं १ मा १० स्वतन्त्रसहित २९, क्षेत्र नं २ मा १७ स्वतन्त्रसहित ३१, क्षेत्र नं ३ मा १९ स्वतन्त्रसहित ३४ र क्षेत्र नं ४ मा २६ स्वतन्त्रसहित ३९ जनाले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं १ मा नितिमा भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमोद साह, जसपा नेपाल बाट राम प्रकाश चौधरी, राष्ट्रिय मुक्ति पार्टीबाट विकास ठाकुरलगायतले मनोनयन दर्ता गराएका छन् ।
क्षेत्र नं २ मा राष्ट्रिय मुक्ति पार्टी बाट राजेन्द्र महतो, नेपाल कम्युनिष्ट पार्टी बाट महेन्द्र राय यादव र नेपाली कांग्रेसबाट डा. सरोज कुमारलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी बाट नरेन्द्र साह कलवार, नेपाल कम्युनिष्ट पार्टीबाट नारायण काजी श्रेष्ठ, नेपाली कांग्रेसबाट विनोदकुमार ढकाल, नेकपा एमालेबाट हरिप्रसाद उप्रेतीलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नं ४ मा नेपाली कांग्रेसबाट गगन कुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टी बाट अमरेश कुमार सिंह र जसपा नेपाल बाट रामेश्वर राय यादवलगायतले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।