: २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवार अशोक राईलाई कडा चुनौती दिँदै झिनो मतान्तरले दोस्रो स्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की कोशी प्रदेश अध्यक्ष गोमा तामाङ (सरिन)ले सुनसरी क्षेत्र नम्बर–१ बाट दोस्रो पटक टिकट पाएकी छन्।
अघिल्लो निर्वाचनमा अपेक्षाकृत नयाँ दल हुँदाहुँदै पनि गोमाले प्राप्त गरेको जनसमर्थनलाई निरन्तरता दिने विश्वासका साथ रास्वपाले पुनः उनलाई उम्मेदवार बनाएको छ। २०७९ मा दोस्रो स्थान हासिल गरेको रास्वपाले गोमालाई टिकट दिएपछि सुनसरी–१ को चुनावी प्रतिस्पर्धा यसपटक झनै रोचक र बहुपक्षीय हुने देखिएको छ।
सुनसरी–१ मा यसपटक रास्वपा, एमाले, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित भएको छ। रास्वपाबाट गोमा तामाङ, एमालेबाट टिकाराम लिम्बू, नेपाली कम्युनिस्ट पार्टीबाट मनोज भट्टराई र श्रम संस्कृति पार्टीबाट धरानका निवर्तमान मेयर हर्कराज राई उम्मेदवार बनेका छन्।
नेपाली कांग्रेसले भने आन्तरिक विवादका कारण अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन। टिकट पाएपछि प्रतिक्रिया दिँदै गोमा तामाङले आफू जनताको आवाज बोकेर फेरि चुनावी मैदानमा उत्रिएको बताइन्। उनले भनिन्, ‘२०७९ सालको निर्वाचनमा सुनसरी–१ का जनताले देखाएको विश्वास र समर्थन मेरो लागि ठूलो प्रेरणा हो। त्यो चुनाव जितमा परिणत नभए पनि जनताको आशा र अपेक्षा अधुरो छैन भन्ने महसुस भएको थियो। यही अधुरोपनलाई पूरा गर्न फेरि मैदानमा आएको हुँ।’
गोमाले परम्परागत दल र नेताहरूको राजनीतिले जनतामा निराशा पैदा गरेको उल्लेख गर्दै वैकल्पिक राजनीतिको आवश्यकता अझै बलियो बनेको बताएकी छिन्। आफ्नो प्राथमिकता शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय स्तरमै देखिने विकास भएको गोमाको भनाइ छ। जनताले साथ दिए भने संसदमा पुगेर सुनसरी–१ को मुद्दा मजबुत रूपमा उठाउने उनले बताइन्।
२०७९ को निर्वाचनमा ‘आछु–आछु’ को अवस्थामा पुगेको प्रतिस्पर्धा यसपटक फरक राजनीतिक समीकरण, नयाँ र पुराना अनुहार तथा कांग्रेसको अन्योलका कारण सुनसरी–१ को चुनाव परिणाम कसको पक्षमा जाने हो भन्ने चासो बढ्दै गएको छ।