: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पाल्पा २ बाट उम्मेदवार उठाउने निर्णय गरेको एमालेले निर्णय सच्चाएको छ। शनिबार साँझ एमाले सचिवालयले गरेको निर्णय सच्चाएर रुपन्देही २ मा नै उनलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले रुपन्देहीका पार्टी इन्चार्ज खिमलाल भट्टराईले जानकारी दिए।
पाल्पा २ मा ठाकुर गैरेको टिकट खोसेर पौडेल त्यहाँबाट चुनाव लड्ने निर्णय भएको थियो। तर, एमाले रुपन्देहीका नेता कार्यकर्ताहरुको चर्को विरोध र दबाबपछि पार्टी केन्द्र निर्णय सच्चाउन बाध्य भएको हो। पौडेलले २०७९ को निर्वाचनमा रुपन्देहीमा स्वतन्त्रका गणेश पौडेललाई १ हजार ३ सय ६६ को मतान्तरले पछि पार्दै चुनाव जितेका थिए।
विष्णुले २७ हजार १ सय ६५ र गणेशले २५ हजार ७ सय ८१ मत प्राप्त गरेका थिए। यसअघिको निर्वाचनमा जित्न हम्मेहम्मे परेकाले सुरक्षित हुन पाल्पा रोजेको हुनसक्ने यस क्षेत्रका मतदाताहरुको प्रतिक्रिया छ। पौडेलको पुर्ख्यौली घर स्याङ्जा हो। उनी बसाई सरेर बुटवल झरेका हुन्।
तर, अहिलेको पूर्ण बसोबास ललितपुरस्थित भैंसीपाटीमा छ। रुपन्देहीको विकास निर्माण र केन्द्रीय राजनीतिसँग प्रत्यक्ष जोड्नका लागि पौडेलको भूमिका महत्वपूर्ण रहेको छ। उनकै नेतृत्व र पहलबाट रूपन्देहीसहित आसपासका जिल्लाका ठूला पूर्वाधार विकास निर्माणका योजनाहरू सञ्चालन भएका छन्।