: सुनसरीको धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष मनोज भट्टराईले पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले राजीनामा दिएका हुन्।
भट्टराईलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा सुनसरी क्षेत्र नम्बर १ मा टिकट दिइसकेको छ। उनी निर्वाचनमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्कराज साम्पाङसँग प्रतिस्पर्धा गर्ने भएका छन्।
वडाध्यक्ष पदबाट राजीनामा दिएपछि भट्टराईले उपमेयर अइन्द्रविक्रम बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका छन्। स्थानीय तहको नेतृत्वमा रहँदै जनसेवा गर्दै आएका भट्टराईको उम्मेदवारीले धरानको राजनीतिक माहोल थप तातिने अनुमान गरिएको छ।
धरानमा हर्क साम्पाङ र मनोज भट्टराई बीचको प्रतिस्पर्धालाई अर्थपूर्ण र रोचक रूपमा हेरिएको छ। दुवै नेताको स्थानीय स्तरमा बलियो जनसमर्थन रहेकाले आगामी निर्वाचनमा कडा टक्कर हुने देखिएको छ।