— एमाले नेता विष्णु रिजालले दैलेख-२ बाट प्रतिनिधिसभा उम्मेदवार बन्न इच्छा जाहेर गरेको यो तेस्रो पटक हो। तर उनले यसपटक पनि टिकट पाएनन्। उनले २०७४, २०७९ र २०८२ गरी तीन पटक प्रतिनिधिसभा उम्मेदवार बन्न चाहेको तर नेतृत्वको रोजाइमा तेस्रो पटक पनि पर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
विद्यार्थीकालदेखि नै एमालेको राजनीतिमा सक्रिय रहेका रिजाल प्रधानमन्त्रीको प्रेस सल्लाहकारको जिम्मेवारी पनि बहन गरिसकेका नेता हुन् । उनी हालै सम्पन्न एमालेको महाधिवेशनबाट पार्टी केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका थिए ।
पार्टीमा निरन्तर काम गर्दै आएका रिजाललाई केपी ओलीले दैलेख २ मा उम्मेदवार बनाएनन् । बरु रिजाल ७ वर्षको हुँदा २०४३ सालमा प्रधानपञ्चबाट निर्वाचन लड्न थालेका, आन्तरिक निर्वाचनमा आफ्नै क्षेत्रका अगुवा कार्यकर्ताको पहिलो रोजाइमा नपरेका, पार्टीको महाधिवेशनमा भारी मतका साथ पराजित लक्ष्मीप्रसाद शर्मा ओलीको रोजाइमा परे ।
अर्कोतर्फ एमाले अध्यक्ष ओलीको रोजाइमा विवादित पात्र चक्रे मिलनको नामले चर्चामा रहेका मिलन गुरुङ परेका छन् । गुरुङलाई एमालेले गोरखा–२ मा उम्मेदवार बनाएको छ । चक्रे मिलनलाई उम्मेदवार बनाएपछि सामाजिक संजालमा टीका–टिप्पणी सुरु भएका छन् ।
२०७९ सालको निर्वाचनमा चक्रे मिलनले गोरखा–२ बाट उम्मेदवार बन्ने आकांक्षा राखेका थिए । एमालेले त्यतिबेला भने अब्दुस मियाँलाई गोरखा–२ बाट उम्म्देवार बनाएको थियो ।
रिजाल दैलेख-२ बाट प्रतिनिधिसभा उम्मेदवार बन्न चाहेका थिए । एमालेले शनिबार उम्मेदवार चयन गर्दा दैलेख-२ मा लक्ष्मीराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दैलेख-१ मा भने रवीन्द्रराज शर्मालाई उम्मेदवार बनाएको छ ।
पार्टी नेतृत्वले टिकट वितरणमा आफ्नो रोजाइमा परेकालाई मात्रै प्राथमिकता दिएको रिजालको भनाइ छ । सामाजिक संजाल फेसबुकमा आइतबार रिजालले लेखेका छन्, 'यस पटकको निर्वाचनमा म दैलेख–२ बाट नेकपा (एमाले) का कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा सिफारिस भएको थिएँ । जिल्ला र प्रदेश कमिटीले पनि पहिलो नम्बरमै सिफारिस गरेका थिए । तर, तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन ।'
तल्लो तहका नेता र कार्यकर्ताले उम्मेदवारका रुपमा देख्न चाहे पनि पार्टी नेतृत्वले भने टिकट नदिएको रिजालको भनाइ छ । 'नेतृत्वले म सात वर्षको हुँदा २०४३ सालमा प्रधानपञ्चबाट निर्वाचन लड्न थाल्नुभएका अनुभवी लक्ष्मीप्रसाद पोखरेललाई फेरि टिकट दिएको छ । पार्टीको आन्तरिक निर्वाचनमा आफ्नै क्षेत्रका अगुवा कार्यकर्ताको पहिलो रोजाइमा नपरे पनि, हालै सम्पन्न पार्टीको महाधिवेशनमा भारी मतका साथ पराजित भए पनि नेतृत्वको रोजाइमा पर्न सक्ने लक्ष्मीजीको अद्भूत क्षमताको प्रशंसा नगरी रहन सकिँदैन,' रिजालले लेखेका छन् ।
पार्टी नेतृत्वले टिकट दिए पनि नदिए पनि राजनीतिमा सक्रिय रहने रिजालको भनाइ छ । आफू कहिल्यै फुट र विभाजनका पक्षमा नलागेको र आगामी दिनमा पनि नलाग्ने उनले लेखेका छन् ।