— नेपाल वायुसेवा निगमका दुवै न्यारोबडी विमान ग्राउन्डेड भएपछि अन्तर्राष्ट्रिय उडान रद्द हुँदा सयौं यात्रु प्रभावित भएका छन्।
शुक्रबारयता उडान रद्द हुँदा दुबई जानुपर्ने १ सय ३३ जना यात्रु र उताबाट नेपाल फर्किनुपर्ने १ सय ११ जना यात्रुलाई निगमकै खर्चमा होटलमा राखिएको छ।
न्यारोबडी विमानको उडान सेवा अवरुद्ध भएपछि निगमले चीनको ग्वाङझाउ, हङकङ तथा दुबईका उडानहरू धमाधम रद्द गर्नुपरेको हो। कतिपय अवस्थामा यात्रुलाई चेक–इन गराई स्टेराइल हलमा प्रवेश गराइसकेपछि उडान रद्द गरिएको भन्दै यात्रुहरू आक्रोशित बनेका भिडियो सामाजिक सञ्जालमा आएका छन्।
उडान रद्दका क्रममा निगमका कर्मचारीमाथि दुर्व्यवहार तथा हातपातका घटना पनि सार्वजनिक भएका छन्। चीनतर्फको उडान रद्द हुँदा केही यात्रुले विमानस्थल प्रहरीकै अगाडि निगमका सिफ्ट इन्चार्ज विजय अधिकारीमाथि हातपात गरेको घटना सामाजिक सञ्जालमा देखिएको छ।
हाल निगमका दुई न्यारोबडी विमान प्राविधिक समस्याका कारण ग्राउन्डेड छन्। ‘लुम्बिनी’ नामक न्यारोबडी विमान इन्जिन फेर्न इजरायल पठाइएको भए पनि हालसम्म नेपाल फर्किन सकेको छैन। अर्को ‘सगरमाथा’ नामक न्यारोबडी विमान शुक्रबार राति बैंककबाट काठमाडौं फर्किएपछि ग्राउन्डेड भएको हो।
निगमका महाप्रबन्धक अमृतमान श्रेष्ठले जहाज मर्मत गरी नियमित उडानमा फर्काउने प्रयास भइरहेको बताए। उनका अनुसार आवश्यक स्पेयर पार्ट्स शनिबार बेलुकी काठमाडौं आइपुगे पनि भन्सार तथा सेनासँग सम्बन्धित प्रक्रियागत कारणले समयमै निकाल्न नसक्दा मर्मतमा ढिलाइ भएको हो।
न्यारोबडी विमान सञ्चालनमा नआएपछि निगमले बाध्य भएर दुवै वाइडबडी विमान प्रयोग गरी उडान व्यवस्थापन गरिरहेको छ, जसले वाइडबडीमा गम्भीर दबाब सिर्जना गरेको छ। निगमका वाइडबडी विमानको इन्जिनको कुल उडान साइकल ६ हजार रहेको छ। हाल अल्फा लिमा यान्की वाइडबडीको करिब ५ सय रअल्फा लिमा जुलु वाइडबडीको करिब ८ सय उडान साइकल मात्र बाँकी छ।
आगामी एक महिनापछि दुवै वाइडबडी विमान ‘ओभरहल’ विस्तृत मर्मतमा जानुपर्ने अवस्था रहेको छ। यस्तो अवस्थामा छोटो दुरीका उडानमा वाइडबडी विमान प्रयोग गर्दा उडान साइकल छिट्टै समाप्त हुने र यसले निगमलाई थप आर्थिक नोक्सानी पुर्याउने निगमका एक निर्देशकले बताए ।