— राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदै छ ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ ।
अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका थिए । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोकप्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा माघ ४ गते आइतबारका दिन ११ः०० बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका थिए । गत भदौ ३१ गते राष्ट्रिय सभाको १८औँ अधिवेशन अन्त्य भएको थियो ।
यसैबीच, निर्वाचन आयोगले माघ ११ गते राष्ट्रिय सभाको १९ सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ । राष्ट्रिय सभा सदस्यमा एकजना निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ ।