: कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति चयन भएका विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई कसैको धम्कीबाट प्रभावित नहुन आग्रह गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गर्दै शर्माले धम्कीबाट प्रभावित नहुन आग्रह गरेका हुन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूको पक्षमा निर्णय नभए देशभर आन्दोलन गर्छु भन्ने प्रकृतिको अभिव्यक्तिले दिनु दुःखद रहेको शर्माको भनाइ छ। 'अहिले भएको प्रक्रियालाई लोकतन्त्रमाथिको नै षड्यन्त्र भएको भन्दैगर्दा विशेष महाधिवेन भुइँतहका नेता कार्यकर्ताहरूको सार्थक र वैधानिक र लोकतान्त्रिक प्रक्रिया हो। निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय गरेन भने देशभर आन्दोलन गर्छु भन्ने प्रकृतिको अभिव्यक्तिले दुःख लागेको छ। निर्वाचन आयोगले विधि सम्मतले नै निर्णय गर्दछ। विधिमा विश्वास गर्ने नेपाली कांग्रेसले भरोसा गर्नुपर्छ,' उनले भने।
उनले खड्काको अभिव्यक्ति भ्रमपूर्ण रहेको बताए। उनले आयोगलाई आफूहरूले विधान बमोजिम विशेष महाधिवेशन गरेको र यसमा दल विभाजनको धारा आकर्षित नहुने बताए।
'दल विभाजन भएर दाबी गर्न गएको जस्तो होइन। यो दल विभाजन भएको होइन। नेपाली कांग्रेसको विधिसम्मत प्रक्रियाबाट भएको विशेष महाधिवेशन हो। त्यसैले दल विभाजनसम्बन्धी कुनै पनि कुरा यसमा आकर्षित हुँदैन। विशेष महाधिवेशनले विधिसम्मत नेतृत्व चयन गरेको छ। त्यसलाई अद्यावधिक गर्न हामी निर्वाचन आयोग आएका हौं,' उनले भने।