: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर -३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ ।
त्यस्तै झापा निर्वाचन झापा- १ का लागि मेचीनगर नगरपालिका कार्यालय, झापा- २ का लागि अर्जुनधारा नगरपालिकाको कार्यालय, झापा- ४ का लागि कनकाई नगरपालिकास्थित अतिथि सदन भवन र झापा- ५ का लागि दमकस्थित अग्र्यानिक कृषि भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । जिल्लामा कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेको छ । जुन २०७९ सालको निर्वाचन भन्दा ५० हजार २२६ मतदातामा वृद्धि भएको उनले बताए ।
जिल्ला समन्वय समितिको भवनमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेल र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संयुक्त रुपमा बोर्ड राखेर मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेका हुन् ।
जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना भइसकेकोले आजदेखि नै निर्वाचनका सम्पूर्ण गतिविधिहरू त्यही कार्यालयहरूबाट सञ्चालन हुने प्रमुख न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता तथा सोही दिन मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने । माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी दिने, माघ ७ र ८ गते उजुरी तथा मनोनयन पत्रमाथि जाँचबुझ गरी निर्णय गर्ने, माघ ८ गते उम्मेदवारको नाम फिर्ता लिने तथा माघ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने बताए । विशेष अवस्थामा यो निर्वाचन हुन लागेकोले सबै पक्षहरूको साथ सहयोगको आवश्यकता पर्ने उनको भनाइ छ ।
त्यस्तै निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिता पालना, राजनीतिक दल तथा सरोकारवाला निकायबिच समन्वय र सहकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी गेलालले बताए । एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार जिल्लाका मतदान केन्द्रहरूलाई वर्गीकरण गरेका छौँ ।
२८५ मतदान स्थलमध्ये ४३ वटा सामान्य, संवेदनशीलमा १४७ र अति संवेदनशीलमा ९५ वटा रहेको प्रजिअ गेलालले बताए । त्यसमा ८१५ वटा मतदान केन्द्रहरु रहेका छन् । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने उनको भनाइ छ ।
निर्वाचन सुरक्षाका लागि झापामा चार हजार ७९७ जना ‘निर्वाचन प्रहरी’ परिचालन गरिने छ । नेपाल प्रहरीतर्फ चार हजार ३०८ र सशस्त्र प्रहरी बलतर्फ ४८९ जना परिचालन गरिनेछ । अहिले निर्वाचन प्रहरी भर्ना भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए ।