: अबेईका लागि संयुक्त राष्ट्रसंघीय अन्तरिम सुरक्षा बल (युनिस्फा)को फोर्स कमान्डरमा रथी गणेश कुमार श्रेष्ठ नियुक्त भएका छन्। संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसन युनिस्फाको फोर्स कमान्डरमा नियुक्त भएका श्रेष्ठ शनिबार त्यहाँ प्रस्थान गर्ने भएका हुन्।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले मङ्सिर १६ गते रथी श्रेष्ठलाई उक्त मिसनको फोर्स कमाण्डरमा नियुक्त गरेका थिए। अबेई सुडान र दक्षिण सुडानबीच विवादित क्षेत्र हो।
ʻसंयुक्त राष्ट्र सङ्घीय विभिन्न शान्ति मिसनहरूमध्ये युनिस्फा मिसनमा नेपाली सेनाले पहिलो पटक फोर्स कमाण्डरको नियुक्त प्राप्त गरेको हो,ʼ नेपाली सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ,ʻयसअघि सन् १९९३ बाट विभिन्न मितिमा नेपाली सेनाका सात जना उच्च सैनिक पदाधिकारीहरूले संयुक्त राष्ट्र सङ्घ अन्तर्गत रही विभिन्न पाँच वटा शान्ति मिसनहरूमा फोर्स कमाण्डरको जिम्मेवारी सफलतापूर्वक पुरा गरी सक्नु भएको छ।ʼ
संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनहरूमा प्राप्त यो जिम्मेवारीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको छवि उच्च पार्न थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ।