— नोबेल शान्ति पुरस्कार विजेता तथा भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्रदान गरेकी छन् ।
बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटघाटका क्रममा उनले ट्रम्पलाई उक्त पदक हस्तान्तरण गरेकी हुन् । अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको केही सातापछि माचाडोले ट्रम्पलाई नोबेल पदक हस्तान्तरण गरेकी हुन् । यस कदमलाई उनले अमेरिका र भेनेजुएलाबीचको दुई सय वर्ष पुरानो ऐतिहासिक सम्बन्धसँग जोडेर व्याख्या गरेकी छन् ।
उनले अमेरिकी स्वतन्त्रता संग्रामका योद्धा मार्किस डे लाफायेटले जर्ज वासिङ्टनको तस्बिर अंकित पदक भेनेजुएलाका संस्थापक सिमोन बोलिभरलाई दिएको ऐतिहासिक प्रसंग स्मरण गर्दै भनिन्, ‘दुई सय वर्षपछि बोलिभरका सन्तानहरूले वासिङ्टनका उत्तराधिकारीलाई हाम्रो स्वतन्त्रताप्रतिको प्रतिबद्धताका लागि नोबेल पदक फिर्ता दिएका छन् ।’
तर नोबेल शान्ति पुरस्कार समितिले पुरस्कार घोषणा भइसकेपछि त्यसलाई कसैलाई हस्तान्तरण गर्न वा बाँड्न नमिल्ने स्पष्ट पारेको छ । यसअघि नै माचाडोले ट्रम्पलाई आफ्नो पदक दिने घोषणा गरेपछि समितिले असन्तुष्टि व्यक्त गरेको थियो । समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नोबेल पुरस्कार घोषणा भएपछि त्यसको स्वामित्व र निर्णय अन्तिम तथा स्थायी हुन्छ । यसलाई कसैलाई हस्तान्तरण गर्न वा बाँड्न मिल्दैन ।’
मदुरोको बहिर्गमनपछि ट्रम्प प्रशासनले भेनेजुएलाको तेल क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न थालेको छ । बुधबार मात्र अमेरिकाले ५० करोड डलर बराबरको भेनेजुएलाली तेल बिक्री गरेको जनाएको छ । यसैबीच, रोड्रिगेज निकट दूतहरू वासिङ्टन पुगेका छन् र भेनेजुएलाली दूतावास पुनः सञ्चालनको तयारी भइरहेको बताइएको छ ।