मुख्य समाचार
चालु आर्थिक वर्ष २०८२/८३ को आधा समय घर्किंदा विकास खर्च १२ प्रतिशतमात्र
चालु आर्थिक वर्ष २०८२/८३ को आधा समय घर्किंदा विकास खर्च १२ प्रतिशतमात्र

। चालु आर्थिक वर्ष २०८२/८३ को आधा समय घर्किंदा विकास खर्च १२ प्रतिशतमात्र भएको छ । यसले पुन: एक पटक राज्यको प्राथमिकता विकास निर्माणमा नभएको पुष्टि गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस मसान्तसम्म ४९ अर्ब ४२ करोड रुपैयाँमात्र विकास खर्च भएको छ । जुन वार्षिक लक्ष्यको १२.१२ प्रतिशत हो । यस वर्ष सरकारले गत वर्षको तुलनामा समेत कम विकास खर्च गरेको छ ।




गत आव २०८१/८२ सम्म लक्ष्यको १६.१६ प्रतिशत विकास खर्च भएको थियो । अर्थात्, त्यस वर्ष ५६ अर्ब ९३ करोड बराबर विकास खर्च भएको तथ्यांक छ । यस वर्ष पहिलो अर्धवार्षिक अवधिमा मुलुकले ठूलो आन्दोलन सामना गर्‍यो ।

२३ र २४ भदौको जेनजी आन्दोलनका कारण राज्यको प्राथमिकता फेरिँदा विकास खर्च प्रभावित भएको सरोकारवाला बताउँछन् ।




भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीका अनुसार नयाँ सरकार बनेलगत्तै अर्थ मन्त्रालयबाट धेरै आयोजना रोक्का गरियो । यसले विकासे अड्डामा अन्योल सिर्जना गर्‍यो । अर्कातर्फ, बहुवर्षीय ठेक्का लागेर रुग्ण बनेका आयोजनामा समेत धमाधम ठेक्का प्रक्रिया रद्द गर्ने अभियान सुरु गरियो ।

विगतका कमजोरी सुधारमा काम भए पनि नयाँ ठेक्का नलाग्नु र कतिपय ठेक्कामा अन्योल सिर्जना हुँदा विकास खर्च प्रभावित भएको उनले बताए ।

यसबीच अर्थ मन्त्रालयको प्राथमिकता समेत अनिवार्य दायित्वको जोहो, निर्वाचन र पुनर्निर्माणमा रह्यो । यसले चालु खर्च उल्लेख्य हुँदा विकास खर्च खुम्चिन पुगेको हो ।





यस वर्ष सरकारले कुल ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ बराबर पूँजीगत खर्चको लक्ष्य राखेको छ । यसमध्ये आर्थिक महिनाको आधा समय बित्दा ५० अर्बसमेत विकास खर्च भएको छैन ।

अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हाले लगत्तै पूँजीगत बजेटतर्फ खुद्रे आयोजनामा विनियोजित बजेट रोक्का राख्ने निर्णय गरेका थिए । पछि बहुवर्षीय आयोजना, विगतमा काम भएर भुक्तानी दिनुपर्ने सहित विभिन्न आयोजना क्रमश: फुकुवा गरिएको थियो ।

तत्कालीन भौतिकमन्त्री कुलमान घिसिङ र मन्त्रालयका अधिकारीहरूले बजेट रोक्का हुँदा विकास निर्माणका काम प्रभावित भएको सार्वजनिक रूपमै बोल्दै आएका थिए ।

५ खर्ब नजिक चालु खर्च

६ महिनामा सरकारले चालु खर्च भने ५ खर्ब नजिक गरेको छ । जसमा तलबभत्ता, सामाजिक सुरक्षा र तल्लो सरकारमा जाने अनुदान सहित खर्च पर्छ ।

कार्यालयका अनुसार पुस मसान्तसम्म ४ खर्ब ८७ अर्ब १४ करोड बराबर चालु खर्च भएको छ । यस वर्ष सरकारले चालु खर्चमा ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेको छ । पुससम्म भएको खर्च लक्ष्यको ४१.२५ प्रतिशत हो ।

उता, वित्तीय व्यवस्थामा भने पुस मसान्तसम्म १ खर्ब ५३ अर्ब खर्च भइसकेको छ । जुन वार्षिक लक्ष्यको ४०.९५ प्रतिशत हो । यस वर्ष वित्तीय व्यवस्थामा ३ खर्ब ७५ अर्ब विनियोजन भएको छ । यस्तो बजेट सरकारले सार्वजनिक संस्थानमा गर्ने लगानी र सार्वजनिक ऋणको साँवा भुक्तानीमा खर्च हुने गर्छ ।

यस वर्ष पुससम्म कुल बजेट खर्च लक्ष्यको ३५.१४ प्रतिशत भएको छ । यस अवधिमा ६ खर्ब ९० अर्ब २१ करोड बजेट खर्च भएको छ । सरकारले चालु आव १९ खर्ब ६४ अर्ब ११ करोड बराबर बजेट कार्यान्वयन गरिरहेको छ ।

आम्दानी र खर्चबीच १ खर्ब ८ अर्बको खाडल

यस वर्ष पहिलो अर्धवार्षिक अवधिमा सरकारको आम्दानी र खर्चबीच १ खर्ब ८ अर्ब बराबरको खाडल छ । ६ महिनामा कुल बजेट खर्च ६ खर्ब ९० अर्ब २१ करोड पुग्दा राजस्व आम्दानी भने ५ खर्ब ८१ अर्ब ४१ करोड बराबर भएको अर्थ मन्त्रालयले जनाएको छ ।



यस वर्ष वैदेशिक अनुमान समेत न्यून आएको छ । कुल ५३ अर्ब ४४ करोड रुपैयाँ वैदेशिक अनुदान भित्र्याउने लक्ष्य राखिएकोमा ६ महिनामा ७ अर्ब १० करोडमात्र वैदेशिक अनुदान भित्रिएको छ । यसले समेत राज्यको आम्दानी प्रभावित बनेको देखिन्छ । बाँकी खर्च जुटाउन सरकार सार्वजनिक ऋणमा निर्भर रहनुपरेको छ ।

आयकर घट्दा राजस्व संकलन लक्ष्य भेट्न कठिन

६ महिनामा राजस्व संकलन भने लक्ष्यको ८१.७५ प्रतिशत भएको छ । पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब २१ करोड राजस्व संकलन लक्ष्य थियो । संकलन भने ५ खर्ब ८१ अर्ब ४१ करोड बराबर भएको छ । यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब बराबर राजस्व उठाउने लक्ष्य राखेको छ ।

सरकारले लिएको वार्षिक लक्ष्यको तुलनामा भने संकलन ३९.२८ प्रतिशत भएको छ । राजस्व संकलन गत आव २०८१/८२ को तुलनामा भने सामान्य बढेको छ । गत आव यसै अवधिमा राजस्व ५ खर्ब ६७ अर्ब उठेको थियो । चालु आवमा संकलन भएको राजस्व गत आवको यसै अवधिको तुलनामा २.४७ प्रतिशतमात्र धेरै हो ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार आयकर गत आवको तुलनामा समेत कम उठ्दा त्यसको असर समग्र राजस्वमा देखिएको छ । पुससम्म १ खर्ब ९४ अर्ब बराबर आयकर उठाउने लक्ष्य थियो । संकलन भने १ खर्ब ३८ अर्ब भएको छ । जुन लक्ष्यको ७१.११ प्रतिशत हो ।

गत आवको तुलनामा आयकर संकलन २.६६ प्रतिशत ऋणात्मक वृद्धिदर भएको छ । भन्सार महसुल गत आवको तुलनामा ८.०८ प्रतिशतले बढेको छ । तर, लक्ष्यको तुलनामा भने ७९.०३ प्रतिशतमात्र उठेको छ । भन्सार महसुल अपेक्षित नबढ्दा त्यसको असर कुल राजस्वमा देखिन्छ ।



यस अवधिमा सरकारले १ खर्ब ४६ अर्ब ८३ करोड भन्सार महसुल उठाउने लक्ष्य राखेको थियो । संकलन १ खर्ब १६ अर्ब रुपैयाँ भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ८.३१ प्रतिशत वृद्धि भएको छ । तर, लक्ष्यको ९०.१२ प्रतिशतमात्र संकलन भएको देखिएको छ ।

पुस मसान्तसम्म १ खर्ब ८६ अर्ब भ्याट संकलन लक्ष्य राखिएको थियो । संकलन भने १ खर्ब ६७ अर्बमात्र भएको छ । अन्त:शुल्क संकलन ९.४६ प्रतिशत बढेको छ । १ खर्ब १ अर्ब अन्त:शुल्क संकलन गर्ने लक्ष्य राखिएकोमा ९१ अर्ब २७ करोडमात्र संकलन भएको छ । जुन लक्ष्यको ९०.०६ प्रतिशत हो ।

अर्थ मन्त्रालयका अनुसार भन्सार र आन्तरिक राजस्व विभाग दुवै लक्ष्य अनुसार राजस्व उठाउन असफल भएका छन् । भन्सार विभागलाई सरकारले पुससम्म २ खर्ब ८६ अर्बको लक्ष्य दिएको थियो । संकलन भने २ खर्ब ३८ अर्बमात्र भएको छ । जुन लक्ष्यको ८३.३५ प्रतिशतमात्र हो ।

आन्तरिक राजस्व विभागलाई ३ खर्ब ४४ अर्बको लक्ष्य राखेकोमा २ खर्ब ७७ अर्बमात्र संकलन भएको छ । जुन लक्ष्यको ८०.५१ प्रतिशत बराबर हो । वार्षिक वृद्धिदर भन्सारको ८.४८ प्रतिशत र आन्तरिक राजस्व विभागको २.९९ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चालु आर्थिक वर्षको प्रथम ६ महिना (साउन–पुस)सम्म पौने ६ खर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको छ । यसमा सबैभन्दा धेरै योगदान पुस महिनाको छ । अर्थ मन्त्रालयका अनुसार पुसमा मात्र १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । पुसमा मात्र १ खर्ब ९० अर्ब ७७ करोड राजस्व उठाउने लक्ष्य थियो। पुस ...
। हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार ६७१ जना ...
— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुमगन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ । विभागले त्यसका अलावा अन्य सुधारात्मक निर्देशनसमेत दिएको छ । उपभोक्ता संरक्षण ऐन, ०७५ तथा उपभोक्ता ...
: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.१७८ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम रहेको चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाखको १०. १७८ प्रतिशतका दरले हुने रकम ५१ करोड ४ लाख १८ हजारबराबरको नगद लाभांश वितरण गर्ने भएको हो । इन्स्योरेन्सको नवौं वार्षिक साधारणसभा बिहीबार रतनलाल केडियाको अध्यक्षतामा सम्पन्न भयो । साधारणसभामा ...
। गत भदौ २३ र २४ गतेको जेनी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुननिर्माण, मर्मत तथा नयाँ संरचना तयार गर्न ३६ अर्ब ३० करोड रुपैयाँ लागत पर्ने भएको छ । आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न मन्त्रिपरिषद् बैठकले गत असोज ५ गते राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय ...