प्रहरीले बाराको पिलुवा–कलैया सडकखण्डस्थित बडहर्वाबाट मंगलबार दुई सय चार केजी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका-६ का २४ वर्षीय निशानबहादुर सिन्चुरी रहेका छन्।
मनहरीबाट कलैयातर्फ जाँदै गरेको बिएसी २३४३ नम्बरको भारतीय नम्बरको पिकअप जिप जाँच गर्ने क्रममा प्रहरीले जितपुरसिमरा-१८ स्थित सडकबाट दुई सय चार केजी गाँजा बरामद गरेको हो। इलाका प्रहरी कार्यालय सिमराअन्तर्गत प्रहरी चौकी जैतापुरका प्रहरी सहायक निरीक्षक निलप्रसाद मैनाली र अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी बरिष्ठ हवल्दार अनवर हुसेनको नेतृत्वमा रहेको प्रहरी टोलीले गाँजा बरामद गरेको हो।
जिपमा फल्स बटम बनाई २० वटा पोकामा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजासहित चालक सिन्चुरीलाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।