: नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले प्रतिनिधि सभाको निर्वाचनमा ४० प्रतिशत सिट आफ्नो पक्षलाई दिनुपर्ने माग राखेका छन्। संस्थापन पक्षको छलफलमा महामन्त्रीद्वयसँग सहमतिमा विशेष महाधिवेशन पक्षका वार्ता समितिकोतर्फबाट आगामी फागुन २१ गतेको निर्वाचनमा आफ्नो पक्षबाट ४० प्रतिशत सांसदको टिकट दिनुपर्ने माग राखेका हुन्।
उनीहरुले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी १६५ निर्वाचन क्षेत्रमा नै कांग्रेस एक्लै लड्नुपर्ने माग पनि राखेको वार्तासमितिका एक सदस्यले अन्नपूर्णलाई जानकारी दिए।
वार्तासमितिका सदस्यले भने, ‘निर्वाचनमा अन्य दलसँग गठबन्धन नगरी हामी एक्लै निर्वाचनमा जानुपर्छ। गठबन्धन मान्दैनौं, कार्यकर्ताले रुख चिन्हमै मतदान गर्न पाउनुपर्छ। हाम्रोतर्फबाट प्रतिनिधि सभाको निर्वाचनमा ४० प्रतिशत सिट दिनुपर्ने माग राखेका छौं। त्योभन्दा कममा सहमति गर्ने पक्षमा छैनौं। यी लगायतका नीतिगत केही माग पूरा भए सहमति हुन सक्छ।’
उनीहरुले सभापति शेरबहादुर देउवाले कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएकाले टिकटमा खड्काकै हस्ताक्षर हुनुपर्ने माग गरेका छन्। कम सिट विशेष महाधिवेशन पक्षधरले पाउँदा बहुमतका आधारमा आगामी संसदीय दलको नेता शेरबहादुर देउवा नै लड्ने आशंकामा उनीहरुले देउवालाई यसपटक निर्वाचन लड्न दिन नहुने माग पनि अघि सारेको बताइएको छ।
यता संस्थापन पक्षले भने विशेष महाधिवेशन पक्षधरलाई २५ प्रतिशत दिन सकिने बताएको छ। शेखर कोइराला पक्षलाई पनि टिकट दिनुपर्ने भएकाले विशेष महाधिवेशन पक्षधरलाई ४० प्रतिशत दिन नसकिने संस्थापन पक्षको बुझाई छ।
दुई पक्षबीच छलफल चलिरहेकाले बिहान ११ बजे बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो १ बजेका लागि सारिएको छ। विशेषगरी ‘पावर सेयरिङ’मै दुवै पक्षको मतभेद कायम छ।
यद्यपी औपचारिक र अनौपचारिकरुपमा नेताहरुले आन्तरिक छलफल तीब्र पारिरहेका छन्। जारी विशेष महाधिवेशनसँगै उत्पन्न संकट समाधानको प्रयास स्वरूप विशेष महाधिवेशन पक्षधरको तर्फबाट सभापति शेरबहादुर देउवा पक्षसँग औपचारिक वार्ता गर्न ४ सदस्यीय समिति गठन गरिएको छ। समितिमा प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे रहेका छन्।
दुवै पक्षबीच छिट्टै वार्ता गरेर सहमतिको बिन्दु खोज्ने र पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने प्रयास गरिने जनाइएको छ। संस्थापन पक्षबाट पूर्णबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाँड, मीन विश्वकर्मालगायत नेताहरु सक्रिय भएका छन्। गएराति र बिहान पनि विभिन्न चरणमा नेताहरुबिच छलफल चलिरहेको बताइएको छ। विशेष महाधिवेशनलाई मान्यता नदिएपनि विशेष महाधिवेशन पक्षधरका खास माग के-के हुन् लिखित रुपमा नै पेश गर्न संस्थापन पक्षले आग्रह गरिरहेको छ।