: बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय डकाहा सिन्धुलीका प्रहरी निरीक्षक सपना खड्काको कमाण्डमा खटिएको गस्ती टोलीले दूधौली नगरपालिका-९ का ४० वर्षीय अनिल महतोलाई पक्राउ गरेको हो।
उनलाई दूधौली नगरपालिका-४ डकाहा बजारमा लुकीछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए। आइतबार दिउँसो पक्राउ परेका महतोलाई आवश्यक कारबाहीका लागि प्रहरी सहायक हवल्दार राम स्नेही यादवको कमाण्डमा २ जना टोलीले आइतबार नै जिल्ला अदालत सिन्धुली उपस्थित गराएको सुवेदीको भनाइ छ।
महतो विरुद्ध जिल्ला अदालत सिन्धुलीले गत कात्तिक ३० गते बैंकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै ६० लाख बिगो, ३ लाख जरिवाना र ३ महिना कैद सजाय फैसला गरेको थियो। त्यसयता उनी फरार रहेका थिए।